काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक-२०८० संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्न जोड दिने बताएका छन्।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा काठमाडौँमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
संघीय शिक्षा ऐन संसद्सम्म पुर्याएको उल्लेख गर्दै प्रचण्डले संसद्को आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताए।
आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागु गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उनले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताए।
संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा प्रचण्डले जोड दिए।