काठमाडौँ- काठमाडौँमा शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेल छैनन्। आज स्थानीय तहको उपनिर्वाचनका कारण खेल नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ। आजको खेल राख्दा क्रिकेट मैदान कीर्तिपुरमा असर हुने भएकाले भोलिलाई सारिएको थियो।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा आज मतदान हुँदैछ। यहीकारण आजलाई खेल नराखिएको हो। भोलि (सोमबार) भने दुई खेल रहेका छन्। क्यानका अनुसार भोलि पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ।
दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ। पहिलो खेल बिहान ९ः १५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ मा सुरु हुनेछ। त्यसपछि समूह चरणका सबै खेल दैनिक दुईवटा हुनेछन्।
सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ।
यसरी चुनिन्छ विजेता
लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।
जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। यसको विजेता फाइनल पुग्नेछ। विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रुपैयाँ प्रदान गरिनेछ।