१२ वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनबाट आम्दानी गर्छन् मासिक डेढ लाख

हिमाल प्रेस ३० मंसिर २०८१ १६:५५ | Sunday, December 15, 2024
१२ वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनबाट आम्दानी गर्छन् मासिक डेढ लाख

बागलुङ- बागलुङ नगरपालिका-७ कालिमाटीको ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर एक उद्यमीले मासिक एक लाख ५० हजार बचत गर्दै आएका छन्।

स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ। १२ वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए।

‘तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु’, उद्यमी शर्माले भने।

एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए।

किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए। कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ। त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन्।

प्रकाशित: ३० मंसिर २०८१ १६:५५ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast