स्वदेश फर्किन आतुर छन् मलेसियामा अवैध बसेका नेपाली कामदार

रमेश भारती २ पुष २०८१ १४:३६ | Tuesday, December 17, 2024
स्वदेश फर्किन आतुर छन् मलेसियामा अवैध बसेका नेपाली कामदार

काठमाडौँ– ताप्लेजुङका महेन्द्र लिम्बू ११ वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए। २०७० सालमा तीन वर्षको भिसा लिएर मलेसिया गएका उनी हालसम्म स्वदेश फर्किएका छैनन्। उनी मलेसिया पुगेका तीन वर्षपछि अवैध भएर काम गर्न थालेका थिए।

महेन्द्र अब नेपाल फर्कने तयारीमा छन्। मलेसिया सरकारले डिसेम्बर ३१ मा समाप्त हुने आप्रवासी स्वदेश फिर्ता कार्यक्रम ल्याएको छ। सोही कार्यक्रमअन्तर्गत स्वेच्छिक फिर्ताका लागि आवेदन दिएर नेपाल आउने तयारीमा रहेको लिम्बूले सामाजिक सञ्जालमार्फत जानकारी दिए। आफूले ग्रिल कम्पनीमा काम गरेर सीप सिकेको उनले बताए।

महेन्द्रले भने, ‘मलेसिया आएको ११ वर्ष बित्यो। अहिलेसम्म घर फर्किएको छैन। यस पटक घर फर्किन आवदेन दिएको छु। नेपाल फर्किएपछि ग्रिल कम्पनी खोलेर चलाउने योजना छ।’  एउटा कम्पनीमा सात वर्ष काम गरेबापत पाँच लाख रुपैयाँ अतिरिक्त पाएको उनले जानकारी दिए।

मलेसियामा अवैध बसेका नेपाली कामदारलाई केही कम्पनीले अतिरिक्त रकम दिने गरेको महेन्द्र बताउँछन्।

मलेसिया सरकारले लामो समय अवैध बसेका विदेशी कामदारलाई १ मार्चदेखि स्वेच्छिक फिर्ताका सुविधा दिएको छ। यो सुविधा पाउन डिसेम्बरभित्रै आवेदन दिइसक्नुपर्छ। स्वेच्छिक फिर्ता कार्यक्रममा सामान्य अपराध गरेका विदेशी नागरिकलाई कम जरिबाना तिरेर आफ्नो देश फर्कन अनुमति दिइएको छ।

कार्यक्रमको सुविधा लिन अध्यागमन कार्यालयमा डिसेम्बरयता हजारौँ विदेशी नागरिक र कामदारको भीड बढेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्। आप्रवासी स्वदेश फिर्ता कार्यक्रमअन्तर्गत तीन दिन धाउँदा मात्र आवेदन दिन पाएको मलेसियाबाट उदयपुरका विकासबहादुर खत्रीले जानकारी दिए।

मलेसियाको अध्यागमन कार्यालयमा स्वेच्छिक फिर्ताका लागि धेरै नेपालीले आवेदन दिइरहेको उनले बताए। ‘१२ वर्ष अवैध रूपमा मलेसियामा काम गरियो। होटल क्षेत्रमा काम गर्दै बसेँ। अब नेपाल फर्किन लागेको हो’, उनले भने।

खत्रीले मलेसियामा अवैध रुपमा बसेर आफूले हुन्डीमार्फत कारोबार गरेको पनि बताए। मलेसियामा हुन्डी कारोबार गर्दा उनी कानुनी झमेलामा पनि परेको स्मरण गर्छन्। हुन्डी कारोबारको पनि कानुनी छुट पाएका कारण जरिबाना तिरेर स्वदेश फर्किन लागेको खत्रीले बताए।

मलेसियाको अध्यागमन ऐनअनुसार अवैध रूपमा बसोबास गरेको कसुरमा सामान्यतया १० हजार रिंगेटसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। ३१ डिसेम्बरसम्म ३ देखि ५ सय रिंगेट जरिबाना तिरेर स्वदेश फर्किन पाउने सुविधा मलेसिया सरकारले दिएको छ। नेपाल फर्किएर होटल क्षेत्रमा काम गर्ने खत्रीले बताए।

मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव बलिरामप्रसाद धामीले मलेसियामा लुकीछिपी बसेका नेपालीसहित अधिकांश विदेशी कामदारले सुविधा लिनसक्ने बताए। उनले सरकारले दिएको स्वेच्छिक फिर्तीको सुविधा धेरै नेपाली लिन सक्ने आशा व्यक्त गरे। दूतावासका अनुसार मलेसियामा ९० हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसेर काम गर्दै आएका छन्। तीमध्ये पाँच हजारभन्दा बढी नेपालीले स्वेच्छिक फिर्ता कार्यक्रमको सुविधा लिने दूतावासको अनुमान छ।

अवैध रुपमा बसेका विदेशी कामदार स्वेच्छिक फिर्ता कार्यक्रममार्फत फर्काएपछि मलेसियाले नयाँ कामदारको कोटा माग गर्ने तयारी गरिरहेको छ। कागजातविहीन विदेशी कामदारको अवस्था घटाएपछि मात्र नयाँ विदेशी कामदारबारे निर्णय लिने मलेसियाको मानव संसाधन मन्त्रालय बताउँदै आएको छ। मलेसियाली अध्यागमन विभागका अनुसार डिसेम्बर सुरु भएयता ३० हजारभन्दा बढी विदेशी नागरिकले स्वदेश फिर्तीका लागि आवेदन दिएका छन्।

प्रकाशित: २ पुष २०८१ १४:३६ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast