गोली हानेर हत्या गरेको आरोपमा सुस्तामा तीन जना पक्राउ

हिमाल प्रेस ३० मंसिर २०८१ १८:३७ | Sunday, December 15, 2024
गोली हानेर हत्या गरेको आरोपमा सुस्तामा तीन जना पक्राउ

नवलपरासी- पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ गोली प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ।

सुस्ता गाउँपालिका-२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो।

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्प्रिङ तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ।

उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ। पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ।

पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। रासस

प्रकाशित: ३० मंसिर २०८१ १८:३७ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast