संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न आवश्यक : कोइराला

हिमाल प्रेस ६ पुष २०८१ १९:०२ | Saturday, December 21, 2024
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न आवश्यक : कोइराला कांग्रेस नेता डा.शेखर कोइराला

धनगढी– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीसम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्।

शनिबार धनगढीमा नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रदेश अधिवेशनमा बोल्दै उनले निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका हुन्।

नेता कोइरालाले समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए।

सत्ता गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएका सातबुँदे सहमतिको अक्षरसः पालना गर्नुपर्ने उनको भनाइ छ।

कोइरालाले सहकारी पीडकहरूलाई पक्राउ गर्ने एउटा प्रक्रिया रहे पनि सहकारी पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराए।

देशको अर्थराजनीति, छिमेकी मुलुकसँगको लेनदेनको अर्थ व्यवस्था र दातृ निकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेको तर्फ सचेत रहन उनले सरकारलाई आग्रह गरेका छन्।

प्रजातन्त्र सेनानी भन्ने बित्तिकै आफू भावुक हुने गरेको बताउँदै नेता कोइरालाले ति सेनानीहरू नभइदिएको भए देशमा प्रजातन्त्र स्थापना हुनै नसक्ने जिकिर गरे।

कोइरालाले पार्टीभित्रका कतिपय तिक्तता स्वाभाविक भए पनि देश र जनताका हितमा एक ढिक्का हुनुपर्ने उल्लेख गरे। उनले १५ औँ महाधिवेशनबाट समय सुहाउँदो कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए।

प्रकाशित: ६ पुष २०८१ १९:०२ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast