 
                             
                                            काठमाडौँ- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सातै प्रदेशका सात उद्योगलाई सम्मान गरेको छ। विभागले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा कोशीबाट सूर्य नेपाल प्रालि, मधेशबाट ब्रिटानिया नेपाल प्रालि, बाग्मतीबाट युनिलिभर नेपाल, गण्डकीबाट सूर्य नेपाल प्रालि, लुम्बिनीबाट राज ब्रुअरी प्रालि, कर्णालीबाट सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिमबाछ वेष्टर्न फिड इ प्रालिलाई सम्मान गरेको हो।
नेपालको अर्थतन्त्र, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, व्यवसायजन्य सुरक्षा र उत्पादनका आधारमा यी उद्योगहरूलाई सम्मान गरिएको विभागले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सम्मान कार्यक्रममा बोल्दै सरकारले व्यवसाय, रोजगार र उत्पादनलाई एकै साथ विकास गर्दै लैजाने योजना बनाइरहेको जानकारी दिए।
उनले विकास र अर्थतन्त्रको सबैभन्दा ठूलो मेरुदण्ड उद्योग र उत्पादन भएको बताउँदै भने, ‘पछिल्लो समयमा उत्पादन केन्द्रित व्यवसाय फस्टाउन थालेका छन्। सरकारले उत्पादन केन्द्रित व्यवसायलाई अनुदान र अन्य सुविधा दिइरहेको छ। यसका लागि अन्य योजना पनि बन्दैछन्।’
वैदेशिक रोजगारीबाट सीप सिकेर फर्किएका युवाले विदेशमा सिकेको सीपका आधारमा उत्पादनजन्य व्यवसायी खोल्नुपर्ने र यस्तो व्यवसायीलाई सरकारले सहयोग गर्ने उनको भनाइ छ।
यस्तै सम्मान कार्यक्रममा बोल्दै विभागका कार्यकारी निर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसाय विकासका लागि सरकारले सातै प्रदेशका उद्योगीलाई सम्मान गरेको बताएका छन्। उनका अनुसार सम्मान पाउने व्यवसाय मात्र राम्रो र उत्कृष्ट भनिएको होइन। सम्मान नपाउने व्यवसायी पनि राम्रो र देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको उनको भनाइ छ। विभागले उत्पादन क्षेत्रमा योगदान पुर्याएका उद्योगीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 