 अन्नपूर्ण क्षेत्रमा पर्यटकहरू। तस्बिरः पर्यटन बोर्ड।
                             अन्नपूर्ण क्षेत्रमा पर्यटकहरू। तस्बिरः पर्यटन बोर्ड।
                                            म्याग्दी- जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन्।
मंसिर-पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि अनुकूल मानिँदैन। वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन्।
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिट ‘ट्रेकिङ’ कम्पनीबाट आएका चार आरोहीहरू आज (शुक्रबार) नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका बताए।
‘नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका चार जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ,’ उनले भने, ‘शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा पाएका छैन।’
नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केहीदिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ।
समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताए। दसैँ, तिहारको समयमा करिब पाँच हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उनले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने जानकारी दिए। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 