शिक्षक पेसागत विकाससहित एक दर्जन तालिम पाठ्यक्रम स्वीकृत

हिमाल प्रेस १२ पुष २०८१ ६:१२ | Friday, December 27, 2024
शिक्षक पेसागत विकाससहित एक दर्जन तालिम पाठ्यक्रम स्वीकृत

काठमाडौँ- शैक्षिक जनशक्ति विकास परिषद्‌बाट शिक्षक पेसागत विकाससहित एक दर्जन तालिम पाठ्यक्रम स्वीकृत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा रहेको शैक्षिक जनशक्ति विकास परिषद्को बिहीबार (पुस ११ गते) बसेको २७औँ परिषद् बैठकले सेवा प्रवेश तालिमसहित एक दर्जन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको हो।

एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो।

शिक्षक पेसागत विकासको प्रारूप-२०८० ले शिक्षक पेसागत विकासका विभिन्न दशवटा विधिहरूमार्फत शिक्षकको पेसागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडि बढाएको छ।

परिषद् बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताइन्। तालिम पाठ्यक्रमलाई Guidance Principle मानी तालिमका विषयवस्तुलाई लचिलो बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टिकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक–विज्ञ–तालिम केन्द्रहरूमा अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने उनले बताइन्।

परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्नेभन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ भन्नेबारे छलफल भएको थियो।

यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्री भट्टराईको भनाइ छ। तालिम पाठ्यक्रम स्वीकृती सँगै प्रदेश शिक्षा तालिम केन्द्रमार्फत सघन रुपमा शिक्षकका लागि तालिम सञ्चालन हुनेछ।

प्रकाशित: १२ पुष २०८१ ६:१२ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast