इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर
काठमाडौँ- रोजगारदाता कम्पनीले अकालमा ज्यान गएका नेपालीलाई ‘प्राकृतिक मृत्यु’ को कागज थमाउँदा परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित हुने गरेको पाइएको छ। वैदेशिक रोजगार बोर्डको अभिलेखअनुसार सन् २००८/९ देखि २०२१/२२ को अवधिमा १४ हजार ६ सय ६६ जना श्रमिकले विदेशमा गुमाएका छन्।
कार्यस्थल दुर्घटनाबाट ७ प्रतिशत, सडक दुर्घटनामा १२.७ प्रतिशत, आत्महत्याबाट ११ प्रतिशत र बाँकी ३०.८ प्रतिशतको अन्य कारणले मृत्यु हुने गरेको बोर्डको तथ्यांक छ। अधिकांश कम्पनीले मृत्यु प्रमाणपत्रमा ‘नेचुरल, सडेन डेथ, हार्ट अट्याक’ जस्ता शब्द लेखिदिने गरेको बोर्ड सचिवालयका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेतीले बताए। उनले भने, ‘बोर्डमा क्षतिपूर्तिका लागि पेस हुने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण स्पष्ट रूपमा उल्लेख गरिएको हुँदैन। त्यसैले पीडितहरूले क्षतिपूर्ति पाउन कठिन हुँदै आएको छ।’
वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकअनुसार एक वर्षमा ज्यान गुमाउनेको संख्या सरदर १४ सय जना छ। उप्रेतीले ४० प्रतिशतको मृत्यु अकालमा हुने गरेको पाइएको छ। रोजगारदाता कम्पनीले ६० प्रतिशत कामदारको प्राकृतिक मृत्यु भएको भनेर शव उठाउने गरेका छन्। साथै कम्पनीले थप ४० प्रतिशतको शव कृत्रिम कारणले भएको भनेर खुलाउने गरेका छन्। उप्रेतीले भने, ‘मृत्यु भएका कामदारको पनि रोजगारदाता कम्पनी क्षतिपूर्ति तिर्नुपर्ने कारणले पनि यस्तो विवरण पठाउने गरेका हुन्।’
उप्रेतीले पोस्टमार्टम अभावमा अधिकांश मृत्युका कारण स्पष्ट नहुने प्रस्ट पारे। ‘मृत्युको वास्तविक कारणको खोजीभन्दा सहजै शव बुझ्ने नेपालको कूटनीतिक शालीनताले पनि कामदारको मृत्युको वास्तविक कारण खुल्न नसकेको अवस्था पनि देखिन्छ। यस विषयमा अध्ययन भइरहेको छ’, उनले भने। मृत्यु हुनेमा खाडी मुलुक र मलेसियामा रोजगारीमा गएका युवा धेरै छन्।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारले चर्को सामाजिक मूल्य चुकाउनुपरेका कतिपय अध्ययनले उजागर गरेका छन्। वैदेशिक रोजगारीका क्रममा अंगभंग, मानसिक समस्या भएका कतिपय बिरामी अस्पतालमै छन्। रोजगारदाता मुलुकका अस्पतालले स्वाभाविक मृत्यु वा ‘हृदयाघात’ जस्ता कारण उल्लेख गरेर मृत्युको वास्तविक कारण नखोजी शव नेपाल रोजगारदाता कम्पनीले पठाउने गरेको मृतकका परिवारकै गुनासो छ। चिसो हावापानीमा हुर्केका नेपाली अस्वाभाविक गर्मी (हिट स्ट्रेस) ले प्रजनन क्षमतामा पनि ह्रास आइरहेको नेपाली चिकित्सकहरू बताउँछन्।




