विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल

हिमाल प्रेस ४ पुष २०८१ १७:१६ | Thursday, December 19, 2024
विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल ऊर्जामन्त्री दीपक खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन्। ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न बिहीबार मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्यानुभव गरेका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले छलफल गरेका हुन्।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिए। उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सबलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव मागे।

मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्न सकिने विकासका कार्यका बारेमा सुझाव माग गरे।

छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताए।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरूले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिए। उनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए।

उक्त छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो।

प्रकाशित: ४ पुष २०८१ १७:१६ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast