विद्यार्थी फेल हुनु अपराध हो : प्रधानमन्त्री ओली

हिमाल प्रेस २६ मंसिर २०८१ २०:३६ | Wednesday, December 11, 2024
विद्यार्थी फेल हुनु अपराध हो : प्रधानमन्त्री ओली

तेह्रथुम- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताएका छन्। विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

पठनपाठन प्रभावकारी हुन नसक्दा विद्यार्थी अनुत्तीर्ण हुने गरेको पाइएको बताउँदै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरे। तेह्रथुमको आठराई गाउँपालिका–४ इवा आफूले कक्षा ४ सम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज (बुधबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधार अनिवार्य भएको बताए।

आफू प्रधानमन्त्रीमा नरहँदा विकास निर्माणका कार्य रोकिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिन, स्थिर राजनीतिक वातावरण बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको बताए। उनले सरकारले विकास निर्माणमा अवरूद्ध योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने बताए।

प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित प्रणामी माध्यमिक विद्यालयको १८ कोठे भवनको उद्घाटन गरेका हुन्। भवन निर्माणमा उक्त फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोसी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन्।

प्रणामी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो।प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए। रासस

प्रकाशित: २६ मंसिर २०८१ २०:३६ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast