रोजगार बन्द भएको मलेसियामा कसरी गइरहेका छन् श्रमिक ?

लाखौँ श्रमिक जाने मलेसियामा अहिले गए जम्मा २६ जना

रमेश भारती १० पुष २०८१ १५:५७ | Wednesday, December 25, 2024
रोजगार बन्द भएको मलेसियामा कसरी गइरहेका छन् श्रमिक ?

काठमाडौँ- मंसिर महिनामा ८४ हजार २ सय २६ जनाको वैदेशिक रोजगारीमा ९७ देश पुगे। जसमध्ये म्यानपावर कम्पनीमार्फत नयाँ श्रम स्विकृत लिएर चारजना मात्रै मलेसिया गएका छन्। त्यस्तै व्यक्तिगत भिसामार्फत २२ जना पनि नयाँ श्रमस्विकृत लिएर मलेसिया पुगेका छन्।

व्यक्तिगत भिसामार्फत भन्नाले कुनै म्यानपावरमार्फत नभई मलेसियामा भएको व्यक्तिले भिसा पठाएर यहाँबाट जाने श्रमिकलाई बुझाउँछ। वैदेशिक रोजगार विभागका अनुसार मलेसियाका लागि पुन:श्रमस्विकृति लिनेको संख्या  ४ हजार ४६९ जना छ। अचम्म चाहिँ के भने अहिले मलेसिया रोजगार नै बन्द छ तर पनि म्यानपावरले मंसिरमा चारजना नयाँ कामदार पठाएको उल्लेख छ। गत मार्चदेखि बन्द मलेसियाको रोजगारी जनवरीदेखि खुल्दै छ। हाल एक हजारभन्दा बढीमा पूर्वश्रम स्वीकृति म्यानपावर कम्पनीले लिएका छन्।

वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेसियाले गत मार्चदेखि विदेशी कामदार भित्र्याउन बन्द गरेको छ। तर त्यहाँका कतिपय रोजगारदाता कम्पनीले सुरक्षा गार्ड र औद्योगिक क्षेत्रमा सिधै अध्यागमनलाई पत्राचार गरेर नेपाली कामदारको माग गर्दै आएको उनको भनाइ छ। ‘मलेसियाको रोजगारी बन्द भए पनि थोरै संख्यामा केही म्यानपावरले कामदार पठाइरहेका छन्। रोजगारदाता कम्पनीले माग गरेको आधारमा मात्र म्यानपावरले कामदार पठाउँछन्’ उनले भने।

मंसिर महिनामा हालसम्म कै सबैभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा मलेसिया दुई लाख २० हजारभन्दा कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ। गत वर्ष मलेसियाको रोजगारी बन्द भएका कारण मलेसिया १० हजार कामदार संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर गएका थिए।

विभागका अनुसार गत वर्ष मंसिरमा ६२ हजार १ सय ४७ जना गएका थिए। करिब दुई हजार नेपाली मलेसिया रोजगारीका लागि गएको विभागको तथ्यांकमा छ। तर चालु आर्थिक वर्षको मंसिरमा त्यो संख्या घटेर २८ जनामा झरेको छ।

कुनै बेला नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य देश मलेसिया जाने कामदारको संख्या सयभन्दा तल झरेको हो। यसमा सबैभन्दा ठूलो कमजोरी सरकारकै भएको वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भण्डारी बताउँछन्।

दुई वर्ष मलेसिया मासिक १० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जान्थे। अहिले त्यो संख्या घटेर २८ जनामा आएको उनी बताउँछन्। ‘गत वर्षको तुलनामा यस वर्ष मंसिरमा २० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जसमा सबैभन्दा कम मलेसिया जानु भनेको रोजगारी र रेमिट्यान्समा ठुलो प्रभाव पर्छ। सरकारले यस विषयमा गम्भीर हुनुपर्छ’ उनले भने।

चाडपर्वको महिना कात्तिकमा पनि करिब ५५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए। मलेसिया संस्थागत र व्यक्तिगत ६१ जना गएका थिए। भने पुनः श्रम स्वीकृति लिएर तीन हजारभन्दा बढी गएका थिए।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च भएपनि मलेसिया जाने कामदारको संख्या न्यून भएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार मंसिरमा म्यानपावर कम्पनीमार्फत मात्रै २८ हजार ८ सय ६८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या न्यून हो। नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य देश मलेसियामा यसरी कामदारको संख्या घट्दा वैदेशिक रोजगारी क्षेत्रमा असर पर्ने उनको भनाइ छ। मलेसियाको रोजगारी घट्नु राम्रो सन्देश नभएको उनको बुझाइ छ।

चालु आवको मंसिरसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख १९ हजार पुगेको छ। गत आर्थिक वर्षको पाँच महिनामा २ लाख ७८ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए।

चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये ८५ प्रतिशतभन्दा बढी खाडीका देश गएको विभागको तथ्यांक छ। जसमा मलेसिया म्यानपावरमार्फत जाने कामदारको संख्या ६७ जना मात्र छ। भने व्यक्तिगत भिसामा ३ सय १८ जना गएको विभागको तथ्यांकमा छ।

प्रकाशित: १० पुष २०८१ १५:५७ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast