रोङ गाउँपालिकाले दिँदैछ महिलालाई नौमती बजाउने तालिम

हिमाल प्रेस ६ पुष २०८१ ७:२६ | Saturday, December 21, 2024
रोङ गाउँपालिकाले दिँदैछ महिलालाई नौमती बजाउने तालिम

इलाम- इलामको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ। नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।

यही ४ पुसदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए।

‘महिलाको क्षमता विकास गर्न, उनीहरूलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ’, अध्यक्ष स्याङ्बोले भने, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न। लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो।’

सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा कुरा काट्नेले हाल प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन्। ‘ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छाडेका छैनौँ,’ उनले भनिन्।

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ।

विगतमा नौमती छुइन्छ कि भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिका रूपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए । उनले भने, ुयसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।ु

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा जारी तालिम १३ पुससम्म चल्नेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न तालिम सञ्चालन गरिएको शाखा प्रमुुख राधिका तामाङले बताइन्।

उनका अनुसार, तालिमको सहजीकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईंले गरिरहेका छन् । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिंगा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहने प्रशिक्षक आचार्यले बताइन्।

प्रकाशित: ६ पुष २०८१ ७:२६ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast