राधिका पन्तको ‘हाम्रो योगयात्रा’ लोकार्पण

हिमाल प्रेस २७ मंसिर २०८१ २०:०० | Thursday, December 12, 2024
राधिका पन्तको ‘हाम्रो योगयात्रा’ लोकार्पण

काठमाडौँ- योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ पुस्तक लोकार्पण गरिएको छ।

पतञ्जली योग समिति भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा डा.यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता कमला ओली, प्राध्यापक चेतोनाथ गौतम, पूर्वसचिव सोमबहादुर थापा, लेखनाथ पन्तलगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल भावसहित लोकार्पित पुस्तकमा योगशास्त्र, योगविधि, योगदर्शनलगायत विषयमा विस्तृत जानकारी दिइएको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले पन्तद्वारा लिखित पुस्तकले योगअभ्यास गर्नेका लागि अत्यन्तै महत्वपूर्ण र उपयोगी हुने विश्वास व्यक्त गरे।

उनले पन्तको लेखनशैली अत्यन्त उत्कृष्ट रहेको उल्लेख गर्दै आगामी दिनमा पनि योग साहित्य एवं कलालाई केन्द्रमा राखेर थप कृति आउने अपेक्षा पनि गरे। पुस्तकमाथि प्रकाश पार्दै उपप्राध्यापक ज्ञवालीले योगलाई जीवनसँग जोड्दा हुने बहुआयामिक उपयोगिताबारे पुस्तकले स्पष्ट पार्नुका साथै योग विधिबारे पनि व्यापक र गहन संश्लेषण गरेको बताए।

कार्यक्रमका सभापति नित्यनाथ श्रेष्ठले पुस्तक पढिसकेपछि योग साधनालाई प्रभावकारी बनाउन थप ऊर्जा प्राप्त हुने भएकाले पुस्तककी लेखक राधिका पन्तको प्रयत्नलाई सह्राहना गरे।

प्रकाशित एक सय ८० पृष्ठको पुस्तकको मूल्य तीन सय पाँच तोकिएको छ।

पुस्तकमा अस्ट्रेलिया यात्रा, योग जागरण गोरखा, माडीबसाइका उपलब्धिहरू, २०८० सालका गतिविधिहरू, चैत्रलगायतका शीर्षक छन्। पन्तको तीजका ‘गीत सङ्ग्रह, ‘भोको मान्छे’ ‘कविता सङ्ग्रह’, ‘विजय शोककाव्य’ ‘राधालेख मिश्रित विद्या’लगायत आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।

प्रकाशित: २७ मंसिर २०८१ २०:०० | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast