 
                            
                                            काठमाडौँ- म्यानमारको मेवाडीबाट उद्धार गरी पाँचजना नेपालीलाई स्वदेश फर्काइएकोछ। नेपाली राजदूतावास बैंकक थाइल्यान्डले विज्ञप्ति जारी गरी उद्धार गरिएका चार पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो।
उनीहरूलाई आईओएम थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरी टाक इमिग्रेसन कार्यालय मेसोट हुँदै थाइल्यान्ड लगिएको थियो। डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्यान्ड तथा गैर सरकारी संस्थाको सहयोगमा नेपाल फर्काइएको थियो। आज मंगलबार एक जना महिलालाई पनि फर्काइएको दूतावासले जनाएको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीका लागि नआउन पनि दूतावासले अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरूको संख्यामा उल्लेखनीय रुपमा बढी रहेका कारण ट्राभल एडभाइजरीमा ध्यान दिनसमेत सम्बन्धीत पक्षलाई सूचित गराएको छ।
कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई ती देश लैजाने समेत भनिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 