मादी-मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु

हिमाल प्रेस ६ पुष २०८१ १०:१३ | Saturday, December 21, 2024
मादी-मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु

तनहुँ- मादी-मर्स्याङदी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरु गरिएको छ। सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो।

बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्नेगरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ।

सम्पर्कमा आई तुरुन्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ। ‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती-गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, कार्कीले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ।’

मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती-गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ। उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ।

निर्माण कम्पनीको लापरबाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरेभञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए।

मादी-मर्स्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट-टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: ६ पुष २०८१ १०:१३ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast