माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी

हिमाल प्रेस १५ पुष २०८१ १७:२९ | Monday, December 30, 2024
माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको माग तथा उत्पादन वृद्धि भएका कारण चुनौती थपिएको बताएका छन्। नेपाल च्याउ किसान सङ्घले आयोजना गरेको च्याउ मेलामा मन्त्री अधिकारीले माग तथा उत्पादन वृद्धि भएकै कारण चुनौतीहरू पनि थपिएको बताएका हुन्।

उनले यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्ने तर्क राखे। ‘नेपालीको च्याउ खाने बानी बसेको छ। माग बढ्दो छ र यसको उत्पादन पनि दिनानुदिन वृद्धि भइरहेको छ,’ उनले भने, ‘तथापि समस्या चुनौतीहरू विविध छन्। माग तथा उत्पादनकै कारण चुनौतीहरू पनि थपिएका हुन् यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्छ।’

नेपालमा व्यावसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा लगायतका च्याउहरूको खेती भइरहेका छन् र बढी तापक्रम (४० डि.से.) मा पनि सहजै उत्पादन गर्न सकिने दुधे च्याउ खेती प्रविधि पनि विकास भएर व्यावसायिक खेती सुरु भइरहेको छ। यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलीकरण, प्रशोधन, गुणस्तरीय बिउ उत्पादनमा पनि अनुसन्धान भई प्रविधिहरू पनि आइसकेको मन्त्री अधिकारीले बताए।

‘च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएकाले अबको हाम्रो ध्यान स्वदेश मै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने छ’ उनले भने।

व्यावसायिक रूपमा प्रवर्द्धन गर्नका लागि आज पुस १५ गते सङ्घले च्याउ मेला आयोजना गरी राष्ट्रिय च्याउ दिवस मनाउँदै छ। एकदिने मेलामा ४० वटा स्टलहरूमा च्याउका प्रदर्शनी रहेका छन्। मेलामा च्याउका विभिन्न परिकारको विभिन्न प्रदर्शनी समेत गरिएको छ। गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा छ।

प्रकाशित: १५ पुष २०८१ १७:२९ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast