मलेसियामा १२ वर्ष बिताएका ढकाल पशुपालनमा

हिमाल प्रेस ७ पुष २०८१ ९:२८ | Sunday, December 22, 2024
मलेसियामा १२ वर्ष बिताएका ढकाल पशुपालनमा

बागलुङ- बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो।

सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने। बागलुङ दुग्ध उत्पादक सहकारी संघसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन्।

उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन्। दैनिक ६० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन्। ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन्।

दूध बेचेर मासिक एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए। गत वर्ष मात्र १७ लाख रुपैयाँ बढी आम्दानी भएको उनले जानकारी दिए। दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ।

प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेका छन्। राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाए। प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ।

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएका छन्। परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन्।

प्रकाशित: ७ पुष २०८१ ९:२८ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast