भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति

हिमाल प्रेस ३० मंसिर २०८१ १८:२४ | Sunday, December 15, 2024
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल भारतको भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किएका छन्। सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा सिग्देल मंसिर २६ गतेबाट भारत भ्रमणमा थिए।

भारत भ्रमणका क्रममा मंसिर २७ गते प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।

यस्तै प्रधानसेनापति सिग्देल भारतको देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए।

प्रधानसेनापति महारथी सिग्देलले भारतका रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, डिफेन्स स्टाफ प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

सोही अवसरमा उनले भारतीय सेनाको दक्षिणी कमान्डअन्तर्गतका एयर फोर्स स्टेसन, टाटा एड्भान्स सिस्टमलगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए।

प्रकाशित: ३० मंसिर २०८१ १८:२४ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast