भाउ बढेपछि किबी फाँडेर अलैँची लाउँदै किसान

हिमाल प्रेस ३ पुष २०८१ ७:३३ | Wednesday, December 18, 2024
भाउ बढेपछि किबी फाँडेर अलैँची लाउँदै किसान अलैँचीको थुप्रो

इलाम- ‘अब किबी उखेलेर अलैँची नै लगाउने हो’, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने। सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैँचीबाट नै दसौँ गुणा फाइदा हुने बताए।

उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन्। किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि दुई लाख रुपैयाँभन्दा बढी हुन्थ्यो।’ अहिले अलैँचीको भाउ लाख माथि छ। किसान अलैँचीको भाउले पनि खेतीतर्फ उत्साहित छन्।

बीस बोट किबीबाट अहिले पाँच हजार रुपैयाँ पनि आम्दानी नभएको उनको भनाइ छ। इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन्।

अलैँची दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ। अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो एक सय रुपैयाँदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ। तर अलैँची प्रतिकिलो दुई हजार आठ सय रुपैयाँभन्दा बढीले बिक्री भइरहेको छ।

अलैँचीको मूल्य हाल एक लाख १५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ। कुनै बेला प्रतिकिलो छ सय रुपैयाँमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ। किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ।

किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ। किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनले बताए।

सुरुमा किबी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको उनको अनुभव छ।

किबीबाट सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए। किबीलाई फलफूलको राजा उपनाम दिइएको छ। एउटै किबीबाट धेरै वटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ।

प्रकाशित: ३ पुष २०८१ ७:३३ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast