बालकोट हत्या प्रकरण : दुईजनाको शव फेला परेको स्थानबाट फरार रहेका एक नियन्त्रणमा

हिमाल प्रेस ९ पुष २०८१ १३:१५ | Tuesday, December 24, 2024
बालकोट हत्या प्रकरण : दुईजनाको शव फेला परेको स्थानबाट फरार रहेका एक नियन्त्रणमा

काठमाडौँ- भक्तपुरको बालकोटमा बुवा र छोराको हत्यापछि फरार रहेका एक युवा प्रहरी नियन्त्रणमा आएका छन्। उनी आज (मंगलबार) बिहान महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन्।

सोमबार बिहान बालकोटको एक घरमा दुईजनाको शव भेटिएको थियो। प्रहरीका अनुसार मृत भेटिएका कूलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण रहेको र जेठा छोरा मिलन फरार रहेका थिए। उनीहरू शनिबार बेलुका सँगै कोठामा सुतेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सोमबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाल कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए।

बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुका अनुसार आचार्य बाबु छोराको हत्या शनिबार राती भएको देखिएको छ। शनिबार बिहान ३ बजे आसपासमा उनीहरुके हत्या भएको प्रहरीको निष्कर्ष छ।

प्रहरीले फरार रहेका उनकै छोरा मिलनको संलग्नता रहेको हुनसक्ने आशंका गरेको थियो। मिलन शनिबार राति तीन बजेपछि खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट गएको सीसीटीभी फुटेजबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा खुलेको तर, त्यसपछि उनी कहाँ गए भन्नेबारे पत्ता नलागेको स्रोतको भनाइ छ।

प्रकाशित: ९ पुष २०८१ १३:१५ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast