बञ्चरेडाँडा निरीक्षणमा पुगे उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २७ मंसिर २०८१ १४:४० | Thursday, December 12, 2024
बञ्चरेडाँडा निरीक्षणमा पुगे उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन्। उनले बिहिबार स्थलगत अवलोकन गरि बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएकाछन्। उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै आएका छन्।

‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरुप भइरहेको छ की छैन ? भन्नेबारे जानकारी लिनुभएको छ,’ उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘ स्थानीयले उठाएका विषयहरू के हुन् ? कसरी समाधान गर्न सकिन्छ ? त्यसबारे समन्वय गरि तदारुकताका साथ काम गर्न उहाँले भन्नुभएको छ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटको आयुबारे चासो राखेका थिए। शहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्छ। तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ। फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरूले ध्यानाकर्षण गराउँदै आएका छन्।

फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको स‌ंयोजनको जिम्मेवारी शहरि विकास मन्त्रालयअन्तर्गत रहेकाले शहरी विकास मन्त्रीका रुपमा सिंहले बञ्चरेडाँडामा देखिएको समस्या समाधान र स्थानीयले उठाएको विषयलाई चासो दिइरहेका छन्। गत मंसिर ९ गते बसेको समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषयहरू समाधान गरि फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उनले जोड दिएका थिए। उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बञ्चरेडाँडासँग सरोकार राख्नेहरू सहभागी थिए।

प्रकाशित: २७ मंसिर २०८१ १४:४० | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast