 
                             
                                            काठमाडौँ- सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को हलमा प्रदर्शन भइरहेको छ। निर्माण टिम सेभेनसिज सिनेमाज र वितरक कम्पनी टी फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टबीचको छलफलपछि फिल्म निरन्तर प्रदर्शन हुने सहमति भएको हो।
दक्षिण भारतीय फिल्म पुष्पा २’ लाई उच्च सो दिएको भन्दै निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत (आज) सोमबारदेखि फिल्म उतार्ने निर्णय गरेकाता पनि वितरक कम्पनीले हलवालालाई फिल्म नरोक्न अनुरोध गरेका थिए। ‘पुष्पा २’ प्रदर्शनपछि कतिपय हलले फिल्मको सो हटाएको थियो भने केही हलले न्युन सो दिएको थियो।
निर्माण टिमले विज्ञप्ति सार्वजनिक गर्दै निर्णय सच्याइएको र नियमित फिल्म प्रदर्शन गर्ने निर्णय गरेको छ। विज्ञप्तिमा भनिएको छ ,‘आज प्रदर्शनको ४० औँ दिनमा आइपुग्दा पनि आम दर्शकका साथै शैक्षिक संस्थाहरुबाट चलचित्र हेर्ने व्यग्र इच्छा व्यक्त भएका फोनकल तथा इमेलहरु हामीले प्राप्त गरिरहेका छौँ। यसले हामीलाई थप जिम्मेवार बनाएको छ। अघिल्लो सूचनालाई सच्याउँदै चलचित्र प्रदर्शन अधिकार वितरक कम्पनीसँग रहेकाले यसै सिलसिलामा हाम्रो चलचित्रका वितरकहरुसँग छलफल गरी चलचित्रलाई निरन्तर प्रदर्शन गर्ने निर्णय गरेका छौँ।,’
यो सँगै देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स चेनले सोमबार उपत्यकाभित्र ६ सो दिएको छ। भने उपत्यकाबाहिर फिल्मले ५ सो पाएको छ। दोस्रो मल्टिप्लेक्स वान सिनेमाजअन्तर्गत एनबी सेन्टर, लोत्से मल र ब्यूबक्स बुटवलमा गरी फिल्मले ३ सो दिएको छ।
तेस्रो मल्टिप्लेक्स आएनआई सिनेमाजअन्तर्गत उपत्यकाका आइप्लेक्स मल, सिके सिनेमाज, एफक्यूब, बिग मूभिज, बिएसआर, रञ्जना सिनेप्लेक्समा फिल्मको एक/एक सो छ।
गन्धर्व समुदायको कथामा आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुर (विजय) को कथा प्रस्तुत गरिएको छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।
फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायतको अभिनय छ।
फिल्मको ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीत श्रोतादर्शकले निकै रुचाएका छन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।
नेपाली फिल्मकै इतिहासमा ‘पूर्ण बहादुरको सारङ्गी’ ले सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ। फिल्मले हालसम्म ४५ करोडभन्दा माथि ग्रस कलेक्सन गरिसकेको टिमको दाबी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 