पर्यटकलाई सहजीकरण गर्न विमानस्थल सम्वद्ध निकायलाई मन्त्री पाण्डेको निर्देशन

हिमाल प्रेस ८ पुष २०८१ १६:४८ | Monday, December 23, 2024
पर्यटकलाई सहजीकरण गर्न विमानस्थल सम्वद्ध निकायलाई मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटकहरुलाई सहजीकरण गर्न विमानस्थलसम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।

मन्त्री पाण्डेले भने, ‘त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो। राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ। सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ। हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ।’

उनले विदेशी पर्यटकहरूलाई पटकपटक आउने गरी वातावरण बनाउन निर्देशन दिए। ‘एकपटक आउने विदेशी पर्यटकहरुलाई पटक पटक आउने खालको वातावरण बनाउनुपर्छ,’उनले भने।

उनले त्रिभुवन विमानस्थल विदेशीहरुका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीहरुले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउन समेत आग्रह गरे।

मन्त्री पाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुहरुलाई सेवा दिनु पर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत अनुरोध गरेका छन्।

उनले विमानस्थलमा देखिएका समस्याहरुको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिए। मन्त्री पाण्डेले भने,‘भन्सार,अध्यागमन,एयरलाइन्स,क्यान कसले के के काम गर्ने र कति सयमभित्र गर्ने भनी प्राथमीकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस्।’

मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासाहरुलाई सहज रुपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तरमन्त्रालय मार्फत हुने समन्वयात्मक कार्यका लागि अग्रसर रहने समेत बताए।

प्रकाशित: ८ पुष २०८१ १६:४८ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast