पत्रकार महासंघ गण्डकीमा पौडेल निर्वाचित

हिमाल प्रेस २९ मंसिर २०८१ १९:२० | Saturday, December 14, 2024
पत्रकार महासंघ गण्डकीमा पौडेल निर्वाचित

पोखरा- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन्। उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई पराजित गरे। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत र प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे।

गण्डकीमा प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले प्यानल नै जितेका छन्। उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए।

खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए। सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए।

गण्डकीमा (गोरखाबाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन्।

नवनिर्वाचित अध्यक्ष पौडेलले आफूले प्राविधिक रुपमा जिते पनि यो सबै जनाको जित भएको र सँगै मिलेर पत्रकारको हकहितको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच पत्रकार महासंघ कास्की अध्यक्षमा प्रेस चौतारी र युनियनकै साझा उम्मेदवार माधव बराल निर्वाचित भइसकेका छन्। उनले राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गरेका हुन्।

हिमालप्रेसकर्मी नेपाललाई सर्वाधिक मत

हिमालप्रेसकर्मी विजय नेपालले सर्वाधिक (पपुलर) मत ल्याएका छन्। पत्रकार महासंघ गण्डकी खुला सदस्यका उम्मेदवार नेपालले सर्वाधिक ४५९ मत ल्याएका हुन्। उनले पाएको मत निर्वाचित २० सदस्यीय कार्यसमितिमै सबैभन्दा बढी हो।

करिब २ दशकदेखि पत्रकारितामा क्रियाशील नेपाल पत्रकार महासंघमा पहिलोपल्ट चुनाव लडेका थिए। उनी २०६५ सालदेखि महासंघ कास्कीका साधारण सदस्य हुन्। प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार उनलाई कास्की शाखाका ८५ प्रतिशत सदस्यले मत दिएका थिए।

प्रकाशित: २९ मंसिर २०८१ १९:२० | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast