 उषाकिरण तिम्सिना
                             उषाकिरण तिम्सिना
                                            काठमाडौँ- नेकपा एमालेको कारबाहीमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी नेतृत्वले पञ्चायतको नक्कल गरेको आरोप लगाएकी छन्।
बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ६ महिनाका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै तिम्सिनालाई कारबाही गरिएको एमालेले जनाएको छ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि जग्गा दानमा लिने पार्टी निर्णयको उनले विरोध गरेकी थिइन्।
तिम्सिनाले पञ्चायतविरूद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेको आरोप लगाएकी छन्।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शिवपुरी गाउँपालिका कमिटीको सपथग्रहण कार्यक्रम थियो। उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाब, मेहनत र चासोको अगाध माया लाग्छ। यता ६ महिना निलम्बनको निर्णय भएछ। पञ्चायतविरूद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो।’
एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य तिम्सिना र स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिना निलम्बन र पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 