निर्माण सामग्री अभावमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले लिएन गति

हिमाल प्रेस १२ पुष २०८१ ९:३८ | Friday, December 27, 2024
निर्माण सामग्री अभावमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले लिएन गति

टीकापुर- निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्।

नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ।

नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन्। हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए। उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए।

‘नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ’, ५८ करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको जानकारी दिँदै उनले भने।

निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापर्बाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिए।

कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजारौँ बिघा जमिन डुबानमा पर्नेछ। सयौँ घरपरिवार बेघर हुनेछन्। कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५/७ नम्बर पिलर बगाउन बाँकी छ। पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ।

सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए। उनले भने,‘सञ्चित सामग्रीबाट निर्माण व्यवसायीले काम गरिरहेका छन्। थप सामग्री नपाउँदा समस्या भएको भन्दै व्यवसायीको निवेदन आएको छ।’

समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव हुने बताउँदै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरे। ‘नदी नियन्त्रणमा करोडौँ खर्च लाग्ने देखिन्छ। नदी नियन्त्रणका लागि लागत अनुमानबारे केन्द्र सरकारलाई जानकारी गराएको तर बजेट अभावमा सबै ठाउँमा काम गर्न सकिएको छैन’, उनले भने।

प्रकाशित: १२ पुष २०८१ ९:३८ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast