दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु

हिमाल प्रेस २५ मंसिर २०८१ १३:०३ | Tuesday, December 10, 2024
दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु फाइल तस्बिर

दमौली- तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ। डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रूपमा यहाँ पुल निर्माण सुरु भएको हो।

भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। दश करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आइएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो।

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए। पुल ४० मिटर लम्बाइको हुनेछ। हाल पुलको फाउण्डेसनको काम भइरहेको छ।

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ। पुल निर्माणपश्चात् आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेँसीसहर जान सक्नेछन्।

प्रकाशित: २५ मंसिर २०८१ १३:०३ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast