दुई नयाँ हुलाक टिकट प्रचलनमा

हिमाल प्रेस १ पुष २०८१ १८:१९ | Monday, December 16, 2024
दुई नयाँ हुलाक टिकट प्रचलनमा

काठमाडौँ- हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ।

हुलाक सेवा विभागले प्रचलनमा ल्याएको ‘१५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज (सोमबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको हो।

सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो। हुलाक विभागअन्तर्गत हालसम्म एक हजार चार सय ५२ प्रकारका हुलाक टिकट छापिसकेको छ। आज टाँचा प्रदान गरिएका हुलाक टिकट १० दरका १०/१० लाख प्रकाशनमा ल्याइएका विभागले  जनाएको छ।

विश्वस्तरमा हुलाक सेवा र संरचनाको नेतृत्व गर्ने विश्व हुलाक संघ (यूपीयू) को स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो। यसमा नेपालसहित एक सय ९२ सदस्य राष्ट्र छन्। संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ।

यस्तै सन् १९२३ सेप्टेम्बर ७ मा इन्टरनेसनल क्रिमिनल पोलिस अर्गनाइजेसन (इन्टरपोल) को स्थापना भएको हो। अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद, लागुऔषध, मानव बेचबिखनलगायत सीमापार हुने बहुआयामिक तथा सङ्गठित अपराध नियन्त्रण तथा रोकथामका लागि विश्वव्यपी रूपमा प्रहरी संगठनहरूलाई एकबद्ध गर्ने उद्देश्यला स्थापना भएको जनाइएको छ।

टिकट टाँचा प्रदानपछि मन्त्रालयका सचिव अर्यालले हुलाक विभागको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको बताइन्। दुई वर्षअघि विदेशबाट हुलाक टिकट छाप्नुपर्ने अवस्था सम्झाउँदै उनले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर राष्ट्रिय सुरक्षाका अरू कागजातहरू पनि स्वदेशमै छाप्ने तयारी मन्त्रलायले गरिरहेको जानकारी दिइन्।

उनले केही हुलाक टिकट राजनीतिक परिवर्तनका कारण प्रचलनमा ल्याउन नमिल्ने खालका रहेको जानकारी गराउँदै ती टिकटलाई सङ्ग्रहालयमा सुरक्षित राख्न हुलाक विभागलाई निर्देशन दिइन्।

हुलाक विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाकका समस्या र चुनौती अध्ययन गर्दै आधुनिक हुलाक बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १ पुष २०८१ १८:१९ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast