गाडी गियरमै छाडेर चालक बाटो हेर्न जाँदा सडकबाट खस्यो गाडी, एक जनाको मृत्यु

हिमाल प्रेस ४ पुष २०८१ २१:२९ | Thursday, December 19, 2024
गाडी गियरमै छाडेर चालक बाटो हेर्न जाँदा सडकबाट खस्यो गाडी, एक जनाको मृत्यु

पोखरा- कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा बिहीबार स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। चालकले गियरमा छाडेर अगाडि बाटो हेर्न जाने क्रममा एक्कासि गाडी सडकदेखि करिब ६ सय मिटर तल खसेको हो।

पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो गाडी दिउँसो पौने २ बजे अन्नपूर्ण गाउँपालिका १०, विकासे डाँडामा सो दुर्घटना भएको हो। दुर्घटनामा परी मुस्ताङको थासाङ गाउँपालिका १, टुकुचेकी ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा पोखरा-१६, दीपकी २० वर्षीया रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका-१, टुकुचेकी ३१ वर्षीया ज्योति खत्री थकाली, बागलुङको गलकोट नगरपालिका-१, झाँकीस्थानकी ७६ वर्षीया खिमकुमारी खत्री र सोही ठाउँकी करिब ५२ वर्षीया नवीना छन्। उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ। गाडीमा सवार बागलुङ गलकोट-१, झाँकीस्थानकी ४० वर्षीया अनिता खत्री भने सकुशल छिन्।

सवारीचालक स्याङ्जाको भिरकोट-२, डाँडाकोटका ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाडी दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पठाएको थियो। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित: ४ पुष २०८१ २१:२९ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast