काठमाडौँ महानगरले गर्‍यो १० स्रष्टालाई जनही एक लाख ५० हजारले सम्मान

हिमाल प्रेस २९ मंसिर २०८१ १६:०५ | Saturday, December 14, 2024
काठमाडौँ महानगरले गर्‍यो १० स्रष्टालाई जनही एक लाख ५० हजारले सम्मान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवका अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजारसहित सम्मान गरेको छ। काठमाडौँमा शनिबार  आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो।

लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा.अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पीएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो।

खेलतर्फ तेक्वान्दोका संगीना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएको कामपाले जनाएको छ। सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजारसहित पुरस्कार प्रदान गरिएको हो।

समारोहमा कामपाका ३२ वटै वडाले आआफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो।  दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो।

आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८१ १६:०५ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast