कता जाला एनपीएलको उपाधि : जनकपुरतिर कि सुदूरपश्चिमतिर?

हिमाल प्रेस ६ पुष २०८१ ७:०५ | Saturday, December 21, 2024
कता जाला एनपीएलको उपाधि : जनकपुरतिर कि सुदूरपश्चिमतिर?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधिका लागि शनिवार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्।

सुदूरपश्चिम र जनकपुर एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित शनिवार मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजेदेखि फाइनल खेल हुनेछ।

यसबाहेक मैदानभित्रको प्रतिष्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। लिग खेल बीचतिर आइपुग्दा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधिको दावेदारका रूपमा हेरिएको थियो। दुवैले सोहीअनुरूप प्रदर्शन पनि गरे।

उपाधि भिडन्तअगाडि नै सुदूरपश्चिम र जनकपुरबीच दुईपल्ट प्रतिष्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो। ती दुवै खेलमा सुदूरपश्चिम जनकपुरमाथि पूर्णतः हावी भयो।

सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिवार आमनेसामने हुँदैछन्।

यसपल्ट पनि सुदूरपश्चिमलाई बलियो दावेदारका रूपमा हेरिएको छ तर फाइनलमा दुवै टोलीमाथि दबाब हुने भएकाले यसअघिकै नतिजा नदोहोरिन सक्छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताएका छन्।

दीपेन्द्रले जित या हारभन्दा पनि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए। पिचको अवस्था अनुरूप ब्याटिङ गर्ने योजना हुने उनको भनाइ छ।

जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे।

पावरप्लेमा राम्रो सुरुवात गरेर ब्याटिङलाई सहजता दिने उनको भनाइ छ। मैदानमा जसले थोरै गल्ती गर्छ त्यसको जित सम्भव हुने उल्लेख गर्दै आसिफले फाइनलमा यसअघि भएका गल्ती कम गर्ने बताएका छन्।

प्रकाशित: ६ पुष २०८१ ७:०५ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast