एनसेल सेयर खरिदबिक्री प्रकरण : सर्वोच्चले दियो निर्देशनात्मक आदेश

हिमाल प्रेस ११ पुष २०८१ १७:४८ | Thursday, December 26, 2024
एनसेल सेयर खरिदबिक्री प्रकरण : सर्वोच्चले दियो निर्देशनात्मक आदेश

काठमाडौँ- सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीविरूद्ध दायर रिटमाथि निर्देशनात्मक आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरूद्ध दायर रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले २०८० मंसिर २० गते एनसेल सेयर स्वामित्व खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

एनसेल एक्जियटा कम्पनीले सेयर कारोबार गर्नुअघि दूरसञ्चार प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्नेमा स्वीकृति नलिएको भन्दै इजलासले नेपालको मौजुदा कानुनको अक्षरसः परिपालना गर्दै पारदर्शी र विधिसम्म तरिकाले सेवा प्रदान गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

त्यस्तै एनसेलले बुझाउनुपर्ने कागजात नबुझाई गरिएको सेयर कारोबार पूर्ण खुलासाको सिद्धान्तको बर्खिलाप रहेको आदेशमा भनिएको छ।

प्रतिनिधिसभा सदस्य सिंहले आजियाटा र स्पेक्ट्रलाइट युके लिमिटेडबीचको कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुन्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्री सम्झौता भएको रिटमा दाबी गरेका थिए।

मलेसियाको कम्पनी आजियाटाले आफ्नो हिस्साको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको खुलासा भएपछि विवाद सुरू भएको थियो।

प्रकाशित: ११ पुष २०८१ १७:४८ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast