एनपीएल सिजन १ का अबका खेलमा अनिल साह नखेल्ने, कसले गर्ला जनकपुरको कप्तानी?

हिमाल प्रेस ३ पुष २०८१ ७:१८ | Wednesday, December 18, 2024
एनपीएल सिजन १ का अबका खेलमा अनिल साह नखेल्ने, कसले गर्ला जनकपुरको कप्तानी?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ड्सका कप्तान अनिल साह अनुपस्थित हुने भएका छन्। उनी घाइते भएकाले आज खेलमा उपलब्ध नहुने जनकपुर बोल्ड्सले जनाएको छ।

जनकपुरलाई क्वालिफायरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन्। नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए। उनी सो खेलमा आठ रनमै आउट भएका थिए। त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो। अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ।

जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिएका हुन्।

अनिलले लिगको पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध पाँच रन मात्रै बनाएको भए पनि दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध अविजित ६२ रनको शानदार पारी खेलेका थिए।

उनले पोखरा एभेन्जर्स विरुद्ध एक, लुम्बिनी लायन्स विरुद्ध ४५, सुदूरपश्चिम रोयल्स विरुद्ध शून्य र काठमान्डु गुर्खाज विरुद्धको खेलमा ११ रन बनाएका थिए । उनी जनकपुरको ओपनर ब्याटर हुन्।

जनकपुरले लिग चरणका दुई खेलमा पराजय बेहोरेको भए पनि पाँच जित सहित १० अंक बनाएर क्वालिफायरमा पुगेको हो। उसले पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

प्रकाशित: ३ पुष २०८१ ७:१८ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast