एनपीएलको फाइनल प्रवेशका लागि कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

हिमाल प्रेस ४ पुष २०८१ १४:११ | Thursday, December 19, 2024
एनपीएलको फाइनल प्रवेशका लागि कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेशका लागि जनकपुर बोल्ट्ससलाई कर्णाली याक्सले सामान्य लक्ष्य दिएको छ। जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका लागि गुल्सन झाले बनाएको २५ रन नै सर्वाधिक रह्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सन मोहम्मद मोहसिनको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए।

अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष थाकेरबाट क्याच आउट हुन पुगे। तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के। चान्डविक वाल्टन ११ रन बनाउँदा हर्ष ठाकेरको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए।

कप्तान सोमपाल कामी ५ रन बनाउँदै शेर मल्लको बलमा मोहम्मद मोहसिनको हातबाट क्याच आउट भए। अर्जुन घर्ति २ रनमा रनआउट हुन पुगे। जनकपुरका लागि ललित राजवंशी, मोहम्मद मोहसिन र जिम्मी निसमले समान २ विकेट लिए। शेर मल्ल र हर्ष ठाकेरले समान एक विकेट झारे।

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पहिलो क्वालिफायरमा सुदुरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। एनपीएलको पहिलो फाइनलको रुपमा सुदूरपश्चिम रोयल्स प्रवेश गरिसकेको छ। सुदूरपश्चिम जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै फाइनल पुगेको हो।

प्रकाशित: ४ पुष २०८१ १४:११ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast