 
                             
                                            काठमाडौँ- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका छन्।
एनसीबी अवुधावी यूएईको समन्वयमा त्यहाँ पक्राउ परेका रूकुम पश्चिम आठबिसकोट नगरपालिका-५ का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि आज (मंगलबार) नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो।
यसै गरी प्रहरीले घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टीकाराम तामाङ रहेका छन्।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङ्दी गाउँपालिका र टीकारामलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो।
उनीहरूले पीडितलाई ‘फ्रि भिसा फ्रि टिकट’ मा कुवेतमा मासिक एक सय २० केडी कमाइ हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पु¥याई नौ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 