काठमाडौँ- नेपाली गीत संगीतमा ‘र्याप’ को छुटै स्थान छ। भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ। लोकगीत र सुगम संगीत नेपालमा रुचाइने सदाबहार विधा हुन्। यद्यपि नयाँ पुस्ता र्यापतर्फ पनि उत्तिकै आकर्षित छन्। पप विधाअन्तर्गत रहेको र्यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ। र्यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ।
पछिल्लो समय नेपाली र्याप र र्यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ। विदेशी र्यापरले नेपाली र्यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ।
र्यापर गिरिस खतिवडा पछिल्लो समय र्यापको सुनौलो समय आएको बताउछन्। ‘हामी कलाकारको लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ। र्यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत पनि चिन्ने गरेको छु’, उनले भने।
खतिवडाले आफूले र्यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउँछन्। अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्याप रहेको उनको बुझाइ छ।
अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले संगीतमा छुटै स्थान बनाउन सफल भएको बताए। ‘हामीले र्यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ। नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ। हामीले रहरमा सुरू गरेको र्याप अहिले पेसा बनिसकेको छ। अहिले र्याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ’, उनले भने।
र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए। पछिल्लो समय नवोदितसँगै पुराना र्यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्यापर।
यद्यपि र्यापलाई चाहिनेभन्दा बढी बदनाम गर्नेको पनि कमी नरहेको र्यापर हाकिमले बताए। ‘र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नुहुँदैन। र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्यापर हुन्। किनकि र्यापमा बेदना, भोगाई र बुझाइ हुन्छ’, उनी भन्छन।
र्यापरलाई सुरुवाती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्यापमार्फत बाहिर आउने गरेको गायक ब्रिजेश श्रेष्ठको बुझाइ छ। गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहेका उनले नवोदितको पीडा राम्रोसँग बुझेको बताए।
‘मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु। उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि र्यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ। त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु। यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्यापमा देखिएको पनि हुन् सक्छ’, गायक श्रेष्ठले भने। उनी केही समय अगाडि गीतसंगीत छाडेर विदेश पनि गएका थिए तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनः गीतसंगीतमा सक्रिय भएका छन्। श्रेष्ठ गीतसंगीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउँछन्।
हाल र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्यापर खतिवडाको धारणा छ। ‘हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो। यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन। र्यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु’, उनले भने।
र्यापर घले हाल विभिन्न रियालिटी सोहरु निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउछन्। ‘हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन। अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ। त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ’, उनले भने।
र्यापर हाकिमले ‘जी-बब’ जस्ता र्यापर ‘रियालिटी शो’ मार्फत नै आएको बताए। उनीसहितको टिमले विभिन्न ‘सो’ समेत गर्ने गरेको छ। र्यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उनले देखेका छन्।
‘अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्यापरका लागि उत्तम समय छ। आउँदो दिन झनै राम्रो देखिएको छ। अहिले र्यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ। म निकै खुसी छु’, र्यापर हाकिमले भने।
उनको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ। ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उनले स्मरण गरे। नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ। ‘अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन। यहाँ टिक्न र र्याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्याप बनाउने र हराउने हुन्छ। यद्यपि आउँदो समय नेपाली र्यापका लागि राम्रो देखिएको छ’, र्यापर हाकिमले भने।
र्यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ। उनीहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्छन्। रासस

                                             
                                             
                                             

