पुस्तक चर्चा

गणिततर्फ गुरु, साहित्यतर्फका निबन्धकार    

ध्रुवहरि अधिकारी १५ मंसिर २०८१ १४:१०
172
SHARES
गणिततर्फ गुरु, साहित्यतर्फका निबन्धकार    

मुकुन्दराज शर्मा उहाँका हजारौं विद्यार्थीका लागि गणितका गुरु हुनुहुन्छ। र, ती चेला-चेली उहाँले लेखेका गणितका पाठ्यपुस्तक यथासमय पढेर लाभान्वित भएका छन्। तर शर्माको परिचय त्यत्तिमा सीमित हुँदैन। गीत-सङ्‌गीतमा रुचि राख्नेहरूले उहाँलाई एक त्यस्ता गीत-रचनाकारका रूपमा चिन्दै आएका छन् जसका शब्दहरूले अरुणा लामाजस्ती गायिका अनि रबिन शर्मा र रामकृष्ण ढकालजस्ता गायकको स्वर पाएका छन्। यथार्थमा, उहाँका रचनालाई आफ्ना कोकिलकण्ठबाट श्रोताहरूलाई सुनाएर यश कमाउने कलाकारको पङ्ति लामै भएको बुझिन्छ।

नेपाली साहित्यको फाँटमा चाहिँ शर्माले निबन्ध विधामा चिनारी पाउनुभएको छ। ‘धोबीघाट मेलोडी’ नामक उहाँको नौलो कृति अहिलेको प्रसङ्‌ग हो। पहिलो कृति थियो ‘शब्दशिविर’ जुन २०७९ सालमा प्रकाशित भयो। सम्भवतः त्यो निबन्धसङ्‌ग्रह पढ्ने नेपालका र नेपालबाहिरका पाठकहरूको समुदायबाट पाएको स्नेह, सद्‌भाव र अभिरुचिबाट नै शर्मालाई निबन्ध-साहित्यमा रहिरहने ऊर्जा प्राप्त भएको होला।

सात-सात फन्को, बस् !

विवेच्य निबन्धसङ्ग्रह दुई दर्जन आत्मपरक निबन्धहरूको सँगालो हो जसलाई लेखकले तीन खण्डमा बाँडेर राख्नुभएको छः क्षणिकीहरू, अनुभूतिहरू र अन्तर्दृष्टिहरू। एउटा अर्को खण्ड पनि छ पुस्तकको सिरानमै, जसलाई ‘विचार-विमर्श’ भनिएको छ। विद्वान्‌हरूले लेखिदिने भूमिका वा प्राक्कथन रहेको विशिष्ट भाग हो यो। प्राध्यापक दयाराम श्रेष्ठको गहकिलो समीक्षा ‘…सात-सात फन्को बस् !’ मा सविस्तार भएको छ। निबन्ध कस्ता लचिला काँटका छन् भने तिनलाई गद्य कविताको साँचोमा समेत ढाल्न सकिन्छ भनेर प्राध्यापक श्रेष्ठले उदाहरणहरू दिनुभएको छ। अर्को मन्तव्य छ सी.के. श्रेष्ठको जसमा पुस्तकको नामकरणकै प्रसङ्‌ग उठाउनुभएको छ। लेख्नुहुन्छः यसको नाम ‘धोबीघाटका धुनहरू’ राखिन सक्थ्यो, तर किन राखियो ‘धोबीघाटको मेलोडी’? उहाँको अनुमानमा यस कृतिमा आगन्तुक शब्दहरूको प्रयोग उदारतापूर्वक भएको हुनाले पाठकहरूलाई बेलैमा त्यसको जानकारी दिनु निबन्धकारले आफ्नो कर्तव्य ठान्नुभएको हुनुपर्छ।

‘विचार-विमर्श’ भन्दा पहिलेका पृष्ठमा प्रकाशकीय र लेखकीयलाई सजाएर राखिएको छ। प्रकाशन संस्था ‘कामना न्यूज पब्लिकेसन्स् प्रा.लि.’का तर्फबाट दिरेकलाल श्रेष्ठले यिनै विशेषता इङ्‌गित गर्न ‘यो साहित्यिक कृति गणितजस्तै वस्तुवादी छ’ भनेर प्रकाशकीयमा लेख्नुभएको छ। लेखकको ‘नमस्तुभ्यम्’ मा प्राध्यापक माधवप्रसाद पोखरेलको चोटिलो उद्‌गार भेटिन्छः ‘तपाईं जस्तो लेख्नुहुन्छ निबन्ध त्यस्तै हुन्छ।’ एक सिद्धहस्त निबन्धकारबाट पाएको यत्तिको हौसलाले शर्मालाई तुरुन्तै अर्को निबन्धसङ्‌ग्रहको खाका कोर्न प्रेरित गर्न पनि सक्छ।

क्षणिकी अभ्यास

माथि नै उल्लेख गरियो, पुस्तकका तीन खण्ड छन्। पहिलो खण्डलाई  ‘क्षणिकीहरू’ को संज्ञा दिइएको छ। तर प्रचलित शब्दकोशहरूमा ‘क्षणिकी’ शब्द भेटिंदैन। के हिसाबले निबन्धकारले यसको प्रयोग गर्नुभयो होला त? आखिर गणितज्ञको तर्क न होः वार्षिकी हुन्छ,मासिकी हुन्छ,दैनिकी हुन्छ भने क्षणिकी शब्द किन हुँदैन? एक दिनभित्रको कुनै क्षणमा कुनै विषय फुर्छ भने त्यसको सङ्‌केत दिन क्षणिकी शब्द प्रयोग गर्न किन नहुने? लेखकले यसबारे केही विद्वान्‌हरूसँग सर-सल्लाह गर्नुभएछ र अनुमोदित पनि हुनुभएछ। त्यसैले आशा गरौं, आगामी समयमा निस्कने कोशहरूमा ‘क्षणिकी’ ले प्रविष्टि पाउनेछ।

शर्माले सुझाएको अर्को एक शब्द हो ‘होर्ता’ जसले कोशमा प्रवेश गर्न अलि बढी समय लाग्ला कि? उहाँले एउटा निबन्धको शीर्षक नै राख्नुभएको छ ‘होर्ता’। उहाँको यो सिर्जना ‘सुन्नेलाई श्रोता’ र ‘हेर्नेलाई दर्शक’ भनेझैं दुबै कार्य एकै पटक गर्नेलाई होर्ता किन नभन्ने भन्ने जिकिरमा आधारित छ। अङ्‌ग्रेजीमा ‘अ’डिएन्स्’ (Audience) शब्दले दुबै वर्गका नर-नारीलाई समेट्छ तर नेपालीमा…? साझाले छापेको नरेन्द्रमणि आचार्य दीक्षितको शब्दकोशमा ‘अ’डिएन्स्’ लाई ‘प्रेक्षा समाज’ लेखिएको त छ तर यो धेरैलाई त्यति सजिलो प्रयोग नलाग्न सक्छ। तसर्थ ‘होर्ता’ को पर्याय हुनसक्ने सरल विकल्प ढिलोचाँडो खोज्नैपर्ने हुन्छ। तर कति समय लाग्ने हो, निधो गर्न सकिन्न। हो, मजस्ता पत्रकारले चाहिँ प्रेक्षक वा पर्यवेक्षक शब्दबाट तत्कालको गर्जो टार्न सक्छन्। तिनमाथि समयको चाप बढी नै परेको हुन्छ, गहिरो खोजीनीतिमा लाग्न भ्याउँदैनन्।

यस हरफको लेखक प्राध्यापक राममणि रिसालको पनि चेलो हो। रिसाल गुरुको मान्यता थियोः- निबन्ध भनेको निर्बन्ध अर्थात् बन्धनमुक्त भएर लेखिने साहित्य हो। यसलाई व्याकरणलगायतका नियमहरूको बन्धनमा पारियो भने उन्मुक्त विचार र भावधारा सलल प्रवाहित हुन पाउँदैनन्। त्यसै हुनाले बार-बन्देज लगाउनु हुँदैन। उदाहरण कति छन् कति, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ भित्र मात्र पनि। ‘के नेपाल सानो छ?’ शीर्षकबाट हामी सबै परिचित छौं। देवकोटाका अन्य विधाका रचनामा जस्तै निबन्धमा पनि नयाँ-नयाँ पदावली प्रयोग भएका छन्, शब्दहरूको निर्माण भएको छ। र, मुख्य कुरो ती प्रयोगहरू सहजसँग मूलप्रवाहमा मिसिएका छन्।

झुक्किएर निबन्धकार

अर्को एक सान्दर्भिक बुँदा। प्रा.माधवप्रसाद पोखरेलले ‘गार्गीको गाँठो’ निबन्धसङ्‌ग्रहमा लेख्नुभएको छः- ”चौबीस सालतिर होला, मैले ‘डायरी’ भन्ने एउटा कथा लेखेको थिएँ। त्यो कथा धरानमा टीकाप्रसाद वस्ती गुरुलाई देखाउँदा उहाँले त्यसलाई ‘यो त निबन्ध पो भयो त’ भनिदिनुभयो। यसरी म पहिले झुक्किएर निबन्धकार भएको हुँ।” यसरी कथा निबन्ध मात्र बन्नसक्ने होइन प्राध्यापक दयाराम श्रेष्ठले भनेझैं गद्य-कवितामा समेत परिणत हुन सक्दोरहेछ। धोबीघाट मेलोडी नै यसको सग्लो प्रमाण हो।

चर्चित सङ्ग्रहका २००+पृष्ठमा छरिएका निबन्धहरूमध्ये केही सहृदयी पाठकलाई जीवन-दर्शनबारे गम्भीर भएर घोत्लिन प्रेरणा दिने प्रकृतिका देखिन्छन्। कतिपयमा बदलिँदो सामाजिक परिवेशमा देखिने अन्तर्विरोधप्रति लक्षित व्यङ्ग्योक्ति-वक्रोक्ति भेटिन्छन्। तेस्रो खण्डमा परेका धेरैजसो निबन्धहरूले चाहिँ पाठकलाई सीधै काउकुती लगाएर हँसाउने क्षमता राख्छन्- मजस्ता सामान्य पाठकको अनुभव यस्तो छ। शर्माका निबन्ध कति स्वादिला छन् त्यसको अनुमान गर्न ‘ढाका टोपीको अमेरिका भ्रमण’ शीर्षकमुनिको सामग्री नै पर्याप्त होला। क्षणिकी विमर्श, हर हर महादेव र नाता चुँडिएको पुस्ता मलाई आकर्षित गर्ने केही अन्य शीर्षक हुन्।

‘निबन्ध भनेको जोगी साहित्य रहेछ’ भन्ने लेखककै निष्कर्ष छ। र, जोगीको कमण्डलुको दृष्टान्त प्रस्तुत गरिएको छः- ‘दाल पनि त्यसैमा,चामल पनि त्यसैमा, नून बेसार पनि त्यसैमा…। शैली पनि ‘जोगी शैली’ ठान्दा हुन्छ, म मन टर्रो पार्दिनँ। विचारले निबन्ध जन्मिन्छ, अनि विचार कमण्डलुको भिक्षाझैं मिसिएर आउँछन् त म के गरुँ ?’

प्रकाशित: १५ मंसिर २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast