हिज्बुल्लाहले भन्यो, इजरायल चाहन्छ भने हामी पनि युद्ध गर्न तयार छौँ

हिमाल प्रेस १५ मंसिर २०८१ १०:५५
6
SHARES
हिज्बुल्लाहले भन्यो, इजरायल चाहन्छ भने हामी पनि युद्ध गर्न तयार छौँ हिज्बुल्लाहका प्रमुख नइम कासिम। तस्बिर : एपी/रासस

काठमाडौँ- लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहका प्रमुख नइम कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलोपटक सार्वजनिक वक्तव्य दिएका छन्।

उनले यस सम्झौतालाई हिज्बुल्लाहको ‘महान् जित’ भनेका छन्। साथै उनले लेबनानी जनताको धैर्यको प्रशंसा गरेको बीबीसीले जनाएको छ।

गत मंगलबारमा इजरायल र हिज्बुल्लाहबीच युद्धविराम सम्झौता भएको थियो। बुधबारदेखि लागू भएको युद्धविराम उल्लंघनको आरोप पनि दुवै पक्षले लगाएका छन्।

युद्धविराम सम्झौता अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको हो। सम्झौताअनुसार ६० दिनभित्र हिज्बुल्लाहले आफ्ना लडाकु र हतियार ब्लु लाइन बीचबाट हटाउनुपर्नेछ भने इजरायली सैनिक दक्षिणी लेबनानबाट चरणबद्ध रुपमा फर्किनुपर्नेछ।

हिज्बुल्लाह प्रमुख नइम क़ासिम शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामीले जित्यौँ किनभने हामीले हिज्बुल्लाह नष्ट गर्नबाट दुश्मनलाई रोक्यौँ। हामीले प्रतिरोध समाप्त गर्न वा निष्क्रिय गर्नबाट रोक्यौँ।’

कासिमले प्यालेस्टिनका पक्षमा आफूहरूको समर्थन कहिल्यै नरोकिने पनि स्पष्ट पारेका छन्। ‘हामीले पटकपटक भनेका छौँ, हामी युद्ध चाहँदैनौँ तर हामी गाजाको समर्थन गर्न चाहन्छौँ। इजरायल युद्ध गर्न चाहन्छ भने हामी पनि तयार छौँ।’

सम्झौता घोषणा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको उद्देश्य इजरायल र हिज्बुल्लाहबीचको युद्ध समाप्त गर्नु रहेको बताएका थिए।

युद्धमा हजारौं लेबनानी नागरिक मरेका छन्। दुवै देशमा हजारौँ मानिस विस्थापित भएका छन्।

यसैबीच शुक्रबार इजरायली सेनाले दक्षिणी लेबनानका गाउँमा बासिन्दालाई नफर्कन चेतावनी दिएको छ। इजरायली सेनाले सार्वजनिक गरेको नक्सामा दक्षिणी लेबनानका धेरै क्षेत्र समेटिएको छ।

सेनाले भनेको छ, ‘यहाँका बासिन्दा फर्किनु हुँदैन र जो फर्कन्छ, ऊ आफैँ खतरामा पर्नेछ।’

युद्धविरामको बीच हिज्बुल्लाह र इजरायल दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका छन्।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार युद्धविरामको दुई दिनपछि दक्षिणी लेबनानको सीमा नजिक अन्त्येष्टि गरिरहेका मानिसलाई इजरायली सैनिकहरूले गोली प्रहार गरेका छन्।

इजरायली सेनाका एक प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भने, ‘पछिल्लो केही घण्टामा इजराइली सेनाले दक्षिणी लेबनानको खिआम क्षेत्रमा शंकास्पद व्यक्तिहरूविरुद्ध कारबाही गरेको छ।’

ती प्रवक्ताले इजरायलको सुरक्षा सुनिश्चित गर्न आफ्ना सेना दक्षिणी लेबनानमा तैनाथ रहने बताए।

इजरायली सेनाले दक्षिणी लेबनानमा हिज्बुल्लाहका आश्रयस्थलहरूमा हवाई आक्रमण गरिएको जनाएको छ। यस्तो आक्रमण युद्धविरामपछि लगातार दोस्रो दिन भएको हो।

इजराइली सेनाले भनेको छ, ‘दक्षिणी लेबनानमा हिज्बुल्लाहसँग सम्बन्धित मोबाइल मिसाइल प्लेटफार्म र आतंकवादी गतिविधिको पहिचान गरिएको थियो, जसपछि वायुसेनाले हवाई आक्रमण गरेर विफल बनाएको छ।’

वक्तव्यसँगै इजरायली सेनाले एउटा भिडियो फुटेज पनि जारी गरेको छ। उक्त भिडियोमा देखाइएअनुसार एक मन्द गतिमा चलिरहेको ट्रक हवाई आक्रमणको निसानामा परेको छ।

उता फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोँले दुवै पक्षलाई युद्धविराम उल्लंघनका सबै घटनामा तुरुन्त रोक लगाउन आग्रह गरेका छन्।

लेबनानका कार्यकारी प्रधानमन्त्री नजिब मिकातीसँग बिहीबार फोनमा कुरा गर्दै म्याक्रोँले इजरायल र लेबनानबीचको युद्धविरामलाई लागू गर्न सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘सम्झौतामा पूर्ण रूपले कार्यान्वयन गर्न सबै उल्लंघनका कार्यहरूमा तुरुन्त रोक लगाउनु आवश्यक छ।’

दक्षिणी लेबनानको अल बिसारियेहका मेयर नाज़िह इदले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै इजरायली सेनाले जंगल क्षेत्रमा आक्रमण गरेको बताएका छन्।

यस्तै लेबनानका सुरक्षाबलहरूले इजरायललाई पटकपटक सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार सीमावर्ती गाउँमा गरिएको इजरायली आक्रमणमा दुई व्यक्ति घाइते भएका छन्।

अर्कोतर्फ इजरायली सेनाले दक्षिणी लेबनानमा कारबाट विभिन्न स्थानमा जाँदै गरेका शंकास्पद व्यक्तिहरूको पहिचान गरिएको जनाएको छ। सेनाका अनुसार यो युद्धविराम सम्झौताका सर्तहरूको उल्लंघन हो।

इजरायली सेनाले वक्तव्य जारी गर्दै भनेको छ, ‘दक्षिणी लेबनानमा इजरायली सेनाको उपस्थिति अहिले पनि छ र युद्धविराम सम्झौताका उल्लंघन रोक्न त्यहाँ रहिरहनेछ।’

इजरायली सेना प्रमुख हेरजी हालेवीले भनेका छन्, ‘इजरायल यो सम्झौता निर्णायक रूपले लागू गर्नेछ। यस सम्झौतामा पुग्नका लागि इजरायलले ठूलो परिश्रम गरेको छ।’

प्रकाशित: १५ मंसिर २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast