काठमाडौँ- आज बालाचतुर्दशी। प्राय: धाममा आज शतबीज छर्ने चलन छ। विशेषत: महादेव नजिकै पुगेर शतबीज छर्ने चलन छ।
आजको दिनमा पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने चलन छ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्। त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
के के हुन्छ शतबीजमा?
शतबीजमा सप्तधान्य चीज हुन्छ। यसमा धान, गहुँ, जौ, मास, मुगी, कागुन र तिल छर्ने परम्परा रह्यो र कहिलेदेखि सुरु भयो भन्ने बारेमा दुईवटा किंवदन्ती रहेको पाइन्छ ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने चलन रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। धर्मशास्त्रविद् गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन।
किन छरिन्छ?
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
राससको सहयोगमा