मौद्रिक नीतिको समीक्षा : आयातनिर्यात दुवै घट्यो

हिमाल प्रेस १४ मंसिर २०८१ ११:२३
6
SHARES
मौद्रिक नीतिको समीक्षा : आयातनिर्यात दुवै घट्यो

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यस्तो तथ्यांक उल्लेख छ।

समीक्षा अवधिमा ३८ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको छ। वस्तु आयातमा पनि ४.२ प्रतिशतले कमी आई ३९० अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। गत वर्षको तुलनामा व्यापार घाटामा ४ प्रतिशतले कमी आई ३५२ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ।

यसैगरी आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५८ प्रतिशतले वृद्धि भई ३६५ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा चालु खाता १११ अर्ब ८७ करोड रुपैयाँ र शोधनान्तर स्थिति १८४ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति १०१ अर्ब ६६ करोडले बचतमा थिए ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा संघीय सरकारको कुल खर्च १७३ प्रतिशतले र राजस्व परिचालन १३.३ प्रतिशतले बढेको छ। यस अवधिमा सरकारको कुल ३२९ अर्ब २० करोड खर्चमध्ये चालु खर्च २२९ अर्ब ८५ करोड, पुँजीगत खर्च २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्था खर्च ६९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यस अवधिमा सरकारले ११५ अर्ब आन्तरिक र २१ अर्ब ३२ करोड बाह्य गरी कुल १३६ अर्ब ३२ करोड रुपैयाँ ऋण परिचालन गरेको छ।

यसैगरी नेपालमा विदेशी पर्यटक आगमनमा पनि वृद्धि भएको छ। सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार पर्यटक आगमन भएको छ। सन् २०२३ को १० महिनामा ८ लाख १० हजार पर्यटक भित्रिएका थिए।

पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्टलगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति एवम् क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण लगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अनुमान समीक्षा प्रतिवेदनमा गरिएको छ।

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने उद्देश्यका साथ मौद्रिक नीति ल्याइएको थियो। समीक्षा अवधिमा लचिलो व्यवस्थालाई निरन्तरता दिइएको छ।

यस्तो छ मौद्रिक नीतिको त्रैमासिक समीक्षा

प्रकाशित: १४ मंसिर २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast