इटहरी- आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदैछ। मौन अवधिअघि निर्वाचनका लागि विभिन्न दलहरूका शीर्ष नेताहरू पालिका र वडा तहसम्मै चुनावी प्रचारमा खटे।
यसैबीच मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निर्वाचनका लागि दलहरू चुनावी प्रचारमा खटिइरहँदा बुधबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा आए। महामन्त्री थापाले यो चुनाव एमालेसँगकै प्रतिस्पर्धा रहेको समेत बताए।
उनले भने, ‘चुनावमा हाम्रो प्रतिस्पर्धी एमाले नै हो। तर हामी प्रचण्डको चकचकीले गर्दा एक भएका छौं। हामी काम गर्ने ठाउँमा स्थिरताका साथ पुगेका छौँ।’ महामन्त्री थापाले ग्रामथानमा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन आग्रहसमेत गरे। महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेस जनतामा जाँदा गरेका कामको रिपोर्ट कार्डसहित जनतामा जाने दाबीसमेत गरेका थिए।
थापा प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्तै यहाँ कांग्रेस र एमालेका शीर्ष नेताहरू आए। नेताहरू आएर भाषण गर्दै आफ्ना दललाई मत माग्नु स्वाभाविक पनि हो। तर यसले यहाँका मतदातालाई कुनै प्रभाव पार्दैन। खास गरी थारु वस्ती रहेको ग्रामथानमा ७ वटा वडा छन्। यहाँका अधिकांश मतदाताहरू खेती, किसानीमा व्यस्त हुन्छन्।
खास गरी यहाँका राजनीतिक दलले शीर्ष नेतृत्व आएको प्रचारसमेत त्यति गरेका छैनन्। किन? भन्ने प्रश्नमा उनीहरूको जबाफ आउँछ, ‘शीर्ष नेतृत्वप्रति जनताको असन्तुष्टि छ। त्यसैले जनता निराशामा छन्।’
सोही कारण पनि यहाँका राजनीतिक दलहरूले शीर्ष नेतृत्व आए पनि त्यति धेरै आक्रामक प्रचार गरेका छैनन्। भरसक शीर्ष नेताहरू आए पनि यहीँका मतदाताको माग सम्बोधन गर्ने गरी भाषण गर्ने र धेरै केन्द्रीयस्तरको गफ नगर्नका निम्तिसमेत आग्रह गर्ने गरेको बताइन्छ।
मोरङको ग्रामथान कोशी प्रदेशकै एउटा मात्रै महानगरपालिका विराटनगरसँग सीमा जोडिएको स्थानीय तह हो। ग्रामथानको अध्यक्षका लागि विभिन्न राजनीतिक दलबाट १५ र एक जनाको स्वतन्त्र उम्मेदवारी गरी १६ उम्मेदवार चुनावी प्रचारमा खटिए। अब उम्मेदवारहरूले राति १२ बजेसम्म मात्रै प्रचार गर्न पाउनेछन्।
खास गरी यहाँ कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ। कांग्रेसबाट बलराम सरदार अध्यक्षको उम्मेदवार छन् भने एमालेबाट तुलसरीराम विश्वास उम्मेदवार छन्। नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी अध्यक्षको उम्मेदवार छन्।
ठूला दल भनिएका कांग्रेस-एमालेलाई भने आफैँबाट फुटेर गएकाको डर हुन सक्ने आकलन गरिएको छ। कांग्रेसबाट माओवादी केन्द्र प्रवेश गरेका नमोनारायणले कांग्रेसको मत आफ्नो पक्षमा पार्ने भएकाले कांग्रेसलाई चुनावमा डर छ। यद्यपि कांग्रेस चुनाव जित्ने विश्वाससहित घरदैलो गरेको छ। एमालेका लागि भने बागी उम्मेदवारकै डर हुने संकेत देखिएको छ। कांग्रेसमा आन्तरिक गुटका कारण पनि बलरामलाई केही असर पर्न सक्ने कांग्रेसका स्वयम् नेताहरू बताउँछन्।
सरदार डा. शेखर कोइराला पक्षधरका नेता हुन्। पार्टीभित्रको गुटगत विवादले चुनावी नतिजामा केही असर पर्नसक्ने विश्लेषण गरिए पनि यसलाई खण्डन गर्छन्, मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू।
‘कांग्रेसबाट उठ्नुभएका बलराम सरदार यहाँको लागि अनुभवी पात्र हो। उहाँले स्व.जयप्रकाश गच्छदारले सारेका मुद्दाहरूलाई सम्बोधन गर्नुहुन्छ। जनताका ठूला माग छैनन्। सडक, पुल पुलेसा, कृषिमा सिँचाइ रोजगारीको अवसरका बारेमा जनताले आफ्ना माग राख्नुभएको छ,’ पूर्व मन्त्रीसमेत रहेका उनले भने, ‘जनताले नेताले बोलेको कुरा पूरा गर्नुपर्यो, अधुरा कामहरू समयमै सम्पन्न गर्नुपर्यो भन्नुहुन्छ। जनतामा पनि एक किसिमको उत्साह पैदा भएको छ। हामीले आफ्ना कुराहरू राखिरहेका छौँ।’
यता एमालेमा टिकट पाएका विश्वाससहित ११ जना अध्यक्षका आकांक्षी थिए। ती ११ जनाकै नाम पार्टीले सिफारिस गरे पनि केन्द्रले भने विश्वासलाई टिकट दिएपछि नमनारायण चौधरीले बागी उम्मेदवारी दिएका छन्। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले मुढा चुनाव चिह्न पाएका छन्। उनको उम्मेदवारीले एमालेलाई धक्का लाग्न सक्ने अनुमान पनि छ।
माओवादीबाट उम्मेदवार बनेका नमोनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान-१ को अध्यक्षमा निर्वाचित भएका हुन्। उनी २०७९ सालको निर्वाचनमा भने कांग्रेसबाट वडाध्यक्षको आकांक्षी थिए। तर टिकट नदिएपछि उनले स्वतन्त्र उठेर पराजित भए।
त्यससँगै माओवादी प्रवेश गरेका उनले अहिले जनताको साथ पाइरहेको पार्टीले दाबी गर्दै आएको छ। यद्यपि नवप्रवेशीलाई टिकट दिएको र पार्टीभित्र योगदान गरेकालाई पाखा लगाइएको भनेर माओवादीभित्र तीव्र असन्तुष्टिसमेत रहेको बताइन्छ। माओवादी कोशी प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले भन्छन्, ‘यसपटक घरदैलो गर्दा जनताको साह्रै राम्रो साथ पायौँ। चुनाव जित्ने विश्वास छ।’ उनले जनतामा माओवादीप्रति आकर्षण बढेको बताए। ‘हामीले घरदैलोका क्रममा माओवादीप्रति जनताको आकर्षण बढेको पायौँ,’ हिमाल प्रेससँगको कुराकानीमा उनले भने, ‘अरू दललाई यसअघि टेस्ट गरिएको र अब अन्य दललाई रोज्ने जनताको कुराले उत्साहित भएका छौँ।’
माओवादी उम्मेदवार नमोनारायणलाई दल फेरिरहने आरोप लाग्दै आएको छ। उनी गत भदौ २९ गते मात्रै कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन्।
कोको नेता मैदानमा खटिए ?
विभिन्न दलबाट शीर्ष नेताहरू मैदानमा खटिए। कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, गुरुराज घिमिरे, भीम पराजुलीलगायत खटिएका थिए।
यसै गरी एमालेमा तुलसीरामलाई चुनाव जिताउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरू अहोरात्र खटिएका छन्। जसमा शेरधन चुनावी कमाण्डरजस्तै बनेर खटिएका छन्।
माओवादीमा भने पूर्वमन्त्री एवं संघीय सांसद अमनलाल मोदी चुनावी कमाण्डर बनेर खटिएका छन्। उक्त क्षेत्र उनै मोदीको निर्वाचन क्षेत्र हो। नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालले नै खेलेका थिए। उनीसहित कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता खटिएका थिए।
खास गरी यसअघि २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७४ मा एमालेका शिवनारायण माझी थारुले ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६ सय ६१ मत ल्याएका थिए।
अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ को निर्वाचनमा भने कांग्रेसबाट उम्मेदवार बनेर जयप्रकाशले पराजित गरे। उनीहरुबीचको मतान्तर १ हजार ५ सय १२ थियो। जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए।
गाउँपालिका अध्यक्षमा निर्वाचित जयप्रकाशको गत असार ३ गते निधन भयो। राष्ट्रियसभा निर्वाचनका लागि मत खसाल्न विराटनगर जाने क्रममा उनी अचानक बेहोस भएका थिए। लामो समय उपचाररत रहे पनि उनको निधन भएपछि अध्यक्ष पद रिक्त थियो। यसअघि दुईपटक आलोपालो चुनाव जितेका दललाई यो पटक भने आफैँबाट फुटेर गएकाहरूबाटै डर भएको विश्लेषण गरिएको छ।
कोको छन् उम्मेदवार?
ग्रामथानको अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाहेक अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार छन्।
यसै गरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन्। उनीहरू आज साँझसम्म चुनावी प्रचारप्रसार गरेका छन्।
कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै चुनाव हुँदैछ। सोहीकारण अधिकांश शीर्ष नेतृत्वहरू यहाँ आएर आफ्ना दलका लागि मत मागेका छन्।
ग्रामथानमा ७ वटा वडा छन्। जसमा २६ हजार ४४ मतदाता छन्। ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतदाता रहेका हुन्।
२०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए। अहिले १ सय २ मतदाता थपिएका हुन्। उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ।
कति मतदानस्थल संवेदनशील ?
यसैबीच उपनिर्वाचनका लागि तोकिएकामध्ये चार वटा मतदानस्थललाई संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये चार वटालाई संवेदनशील र आठ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार विगतका निर्वाचनमा भएका झगडा, विवाद, मतदाता र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो। सुरक्षाका दृष्टिकोणले ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र मावि, ५ को तेतरियास्थित देवी मावि, ६ को रविहाटस्थित पब्लिक मावि र ७ को धोवियारेस्थित गणेश मावि मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको उनले बताए।
निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर प्रहरीको भनाइ छ।