भारत : अश्लील भिडियो बनाएर प्रसारण गरेको आरोपमा दुई पत्रकारलाई पक्राउ पुर्जी

हिमाल प्रेस १३ मंसिर २०८१ १६:२८
12
SHARES
भारत : अश्लील भिडियो बनाएर प्रसारण गरेको आरोपमा दुई पत्रकारलाई पक्राउ पुर्जी पत्रकार चित्रा त्रिपाठी र सैयद सुहैल। तस्बिर साभार : न्युजलन्ड्री

काठमाडौँ- बालिकाको अश्लील भिडियो बनाएर प्रसारण गरेको आरोपमा भारतको एक अदालतले दुई पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको छ। हरियाणा राज्यको गुरुग्राम विशेष अदालतले पत्रकार चित्रा त्रिपाठी (एबीपी न्युज) र सैयद सुहैल (रिपब्लिक भारत) लाई पक्राउ पुर्जी जारी गरेको हिन्दी लाइभ ल इनले उल्लेख गरेको छ। अदालतको आदेशअनुसार दुवै पत्रकारले धरौटी बुझाएर मुद्दा लड्ने सुविधा पाउने छैनन्।

अतिरिक्त जिल्ला र सत्र न्यायाधीश अश्विनी कुमारले सम्बन्धित प्रहरी अधिकारीलाई अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका छन्। यसअघि त्रिपाठीका वकिलले व्यक्तिगत रूपमा पेसीबाट छुटको माग गरेका थिए। उनीहरूले त्रिपाठी चुनावी समाचार संकलनमा व्यस्त रहने दाबी गरेका थिए।

अदालतले उनीहरूको निवेदन अस्वीकार गरेको छ। अदालतले भनेको छ, ‘यो मुद्दा सन् २०१५ देखि चलिरहेको छ। यसरी ढिलाइ हुँदै गयो भने यसलाई समाधान गर्न लामो समय लाग्नेछ।’ अदालतले सैयद सुहैलको निवेदन पनि अस्वीकार गरिदिएको छ।

यस मुद्दामा ८ पत्रकारको नाम समावेश छ। ती पत्रकारमा अजित अन्जुम, दीपक चौरसिया, सुनिल दत्त, रासिद हासमी, रिपोर्टर ललित सिंह बडगुर्जर र निर्माता अभिनव छन्।

अदालतले उनीहरूलाई आपराधिक जालसाजी र पोक्सो कानुनअन्तर्गत मुद्दा चलाएको हो। यस मुद्दामा अर्को सुनुवाइ ३० नोभेम्बरमा हुने तय गरिएको छ।

आठैजनामाथि आपराधिक घटनामा आधारित रहेर सनसनी मच्चाएको आरोप छ। उनहरूले लगभग १० वर्षीया बालिका र उसको परिवारको झूटा भिडियो तयार पारेर प्रसारण गरेका थिए। त्यसमा पीडित र उसको परिवारलाई अश्लील र अभद्र तरिकाले प्रस्तुत गरिएको थियो। उक्त भिडियो समाचार च्यानलहरूमा प्रसारण गरिएपछि पीडित र परिवारको प्रतिष्ठामा धक्का लागेको थियो।

त्यसका अतिरिक्त उनीहरूलाई झूटो भिडियो क्लिप बनाएको र सम्पादन गरेको आरोप लागेको छ। यस्तो भिडियो क्लिपलाई विभिन्न च्यानलहरूमा समाचार बनाएर प्रसारण गरिएको थियो। तिनमा बालिकालाई अश्लील र अपमानजनक तरिकाले प्रस्तुत गरिएको थियो।

प्रकाशित: १३ मंसिर २०८१ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast