काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) स्थानीय तह उपनिर्वाचनमा मधेशकै स्थानीय तहमा उम्मेदवार उठाउन सकेको छैन। मधेशलाई केन्द्र बनाएर राजनीति गर्दै आएको लोसपाले आधार क्षेत्रमै उम्मेदवारी दिन नसकेको हो।
आगामी मंसिर १६ गते मधेशका सात वडामा उपनिर्वाचन हुँदैछ। धनुषाको धनुषाधाम नगरपालिका-१, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेको हो।
लोसपाले संघका साथै मधेश सरकारमा पनि सत्ता साझेदारी गरिरहेको छ। प्रतिनिधिसभामा चार र मधेश प्रदेश प्रदेशसभामा एक निलम्बितसहित ८ जना सांसद छन्।
संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् भने मधेश सरकारमा रानी शर्माले शिक्षा तथा संस्कृति मन्त्रालय सम्हालिरहेकी छन्।
मधेश प्रदेशका आठ जिल्लामध्ये लोसपाको सबैभन्दा बढी प्रभाव महोत्तरीमा रहेको छ। अध्यक्ष महन्थ ठाकुर र श्रममन्त्री भण्डारी महोत्तरीबाटै प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
त्यस्तै प्रदेशसभामा पनि महोत्तरीबाट तीनजना प्रत्यक्ष निर्वाचित र तीनजना समानुपातिक सांसद छन्। तैपनि लोसपाले महोत्तरीको एउटा वडामा मात्र भइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिन सकेन। महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा उपनिर्वाचन हुँदैछ।
प्रदेशमन्त्री शर्मा यतिबेला रामजानकी विवाहपञ्चमीको तयारीमा व्यस्त छिन्। पार्टीपंक्ति आसन्न महाधिवेशन र सदस्यता वितरणको अभियानमा जुटे पनि आफ्नै आधार क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिनतर्फ ध्यान सकेनन्।
लोसपाका एक पदाधिकारीले शीर्ष नेतृत्व र पार्टी कार्यालयबाट भएको त्रुटिका कारण उम्मेदवारी दिन नसकिएको बताए। चुनावअघि निर्वाचन आयोगमा दल दर्ता गर्न छुटेका कारण लोसपा उम्मेदवारी दिनबाट चुकेको उनको भनाइ छ।
‘मधेशलाई आधार बनाएर राजनीति गरिरहेका छौँ, मधेशमै उम्मेदवारी दिन सकेका छैनौँ,’ ती पदाधिकारीले भने, ‘हरेक चुनावअघि निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने हुन्छ। दल दर्ता नै भएको छैन। लोसपा जस्तो पार्टीबाट भएको अक्षम त्रुटि हो।’ काठमाडौँस्थित पार्टी कार्यालयमा सधैँ बस्ने गरेका शीर्ष नेताहरूले चासो नदिँदा दल दर्ता नगर्ने त्रुटि भएको ती पदाधिकारीको भनाइ छ।
मधेशलाई केन्द्र बनाएर राजनीति गरिरहेका जसपा नेपाल, जनमतलगायतका पार्टीहरू चुनावी अभियानमा जुटेका बेला महन्थ ठाकुर नेतृत्वको लोसपा भने मौन बसेको छ।
लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले उम्मेदवारी दिन नसक्नुमा प्राविधिक त्रुटि भएको बताए। उनले भने, ‘प्राविधिक त्रुटिका कारण मनोनयन दिन सकेनौँ।’
मनोनयन दिन नसक्दा पार्टीलाई सांगठनिक रूपमा क्षति भएको सोनलको भनाइ छ। उनले भने, ‘मधेशमै उम्मेदवारी दिन नसकेपछि पार्टीलाई सांगठनिक रूपमा पक्कै पनि क्षति भएको छ। त्यो क्षति न्यूनीकरणका विषयमा पार्टीभित्र छलफल भइरहेको छ।’
जसपा नेपाल र मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले पनि सातमध्ये ६/६ वटा वडामा मात्रै उम्मेदवारी दिएका छन्।
जसपा नेपालले रौतहटको राजपुर-६ बाहेक अन्य सबै सात वडामा उम्मेदवार उठाएको छ। त्यस्तै जनमत पार्टीले महोत्तरीको रामगोपालपुर नगरपालिकामा उम्मेदवारी दिन सकेको छैन।