इजरायल-हिजबुल्लाह युद्धविराम : धमाधम घर फर्कन थाले विस्थापित

हिमाल प्रेस १२ मंसिर २०८१ १४:०३
6
SHARES
इजरायल-हिजबुल्लाह युद्धविराम : धमाधम घर फर्कन थाले विस्थापित इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएको खुसीयाली मनाउँदै लेबनानको सिडोन सहरमा आश्रय लिइरहेका लेबनानीहरू। तस्बिर : एपी/रासस

काठमाडौँ– इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता भएपछि विस्थापित भएका मानिस घर फर्किन थालेका छन्। दक्षिणी लेबनानका बासिन्दा युद्धविराम सम्झौतापछि बुधबार घर फर्किन थालेको बीबीसीले जनाएको छ।

दुई पक्षबीच १४ महिनापछि युद्धविराम सम्झौता भएको हो। बीबीसीले लेखेको छ, ‘इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएको केही घण्टामा मानिसहरू आफ्ना घर फर्किन थालेका छन्।’

दक्षिणी लेबनानमा हिजबुल्लाहको बलियो समर्थन छ। हजारौँ मानिस घर फर्कन थालेपछि बेरुत र दक्षिण बीचको मुख्य राजमार्गमा ट्राफिक जाम भएको छ। गाडीहरू परिवारका सदस्य, झोला र सुटकेसले भरिएका छन्।

अझै पनि इजरायली सेना दक्षिणका केही भागमा तैनाथ छन्। तिनीहरूको फिर्ती क्रमिक रूपमा हुने अपेक्षा गरिएको छ।

इजरायली रक्षा बलले भने आफ्ना बासिन्दालाई दक्षिणतर्फ जानबाट रोक्न चेतावनी दिएको छ। लेबनानमा धेरै मानिसले आफ्नो घरतर्फ यात्रा थालेका छन्।

इजरायली रक्षा बलले वक्तव्य जारी गर्दै लेबनानतर्फको निषेधित क्षेत्रमा यात्रा गरिरहेको केही शंकास्पद व्यक्तिहरूले गोली प्रहार गरेको जनाएको छ। ‘सेनाले क्षेत्रको सुरक्षा गर्ने उद्देश्यले गोली प्रहार गरेको हो। त्यसपछि शंकास्पद व्यक्तिहरू त्यहाँबाट अन्यत्र गएका छन्’, वक्तव्यमा उल्लेख छ। रक्षा बलले जोकोहीले युद्धविराम सम्झौता उल्लंघन गर्ने प्रयास गरेमा कारबाही गरिने चेतावनी दिएको छ।

युद्धका कारण विस्थापित भएका १२ लाख लेबनानी र लेबनानसँगको सीमा नजिकका घरबाट भागेका हजारौँ इजरायलीकमा लागि केही राहत प्रदान गर्न सक्ने समाचार संस्था एपीले उल्लेख गरेको छ।

प्रकाशित: १२ मंसिर २०८१ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast