पोखरा- आगामी सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपमा नेपाल सहआयोजक हो। त्यसैले ‘पर्यटनको राजधानी पोखरा’ सकेसम्म माछापुच्छ्रेलाई छाया पार्दै क्रिकेट खेलाउन चाहन्छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालसहित बंगलादेशलाई सहआयोजकको जिम्मा दिएपछि नेपालमा पनि त्यसको तयारी सुरु भएको छ।
यसै क्रममा क्रिकेट मैदानसहित विविध पक्ष बुझ्न आईसीसी प्रतिनिधि टोली मंगलबार पोखरा आएको छ। आईसीसीका सिनियर म्यानेजर रोहित पोड्डर, डेभलपमेन्ट अफिसर एमडी एमिनुल इस्लामसहित नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्कासहितको टोली पोखरा आएको हो।
टोलीलाई पोखरा रंगशालामा स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल सहआयोजक रहेको विश्वकप तयारीका लागि पोखराको पूर्वाधार तयार पार्न र पोखरामा समेत खेल आयोजना गर्न सहयोगको अपिल गरे। आचार्यले विश्वकपका लागि के-के पूर्वाधार आवश्यकता पर्नेबारे जानकारी दिन आग्रह गरे।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपाल आईसीसीको लागि एक महत्त्वपूर्ण टिम भएको र दर्शकको क्रेज पनि पछिल्लो समय बढेको उल्लेख गरे। ‘अब १७/१८ महिना बाँकी छ। त्यसबेलासम्म आईसीसीको न्यूनतम मापदण्ड पूरा भए पोखरामा अवश्य खेल आउनेछ। उनीहरू (आईसीसी प्रतिनिधि) पनि पोजेटिभ छन्,’ पोखरा क्रिकेट मैदानमा मंगलबार संक्षिप्त भेटबारे बताउँदै सिग्देल आशावादी देखिए।
उनले अगाडि भने, ‘खेलका लागि आईसीसीले ५ सहर मागेकोमा काठमाडौंपछि पोखरा दोस्रो हुने कि चितवन दोस्रो हुने? भन्नेमात्र हो। यदि पोखरामा खेल नआए पोखराको क्रिकेट अझै १० वर्ष पछि धकेलिने निश्चित छ।’
आईसीसी प्रतिनिधि टोलीलाई बुधबार पोखरा घुमाउने कार्यक्रम छ। विश्वकपका लागि पोखरामा पाँचतारे र चारतारे होटलका कम्तीमा ३०० रुम आवश्यक पर्ने बताइएकाले सो आफूहरुले भिजिट गराउने सिग्देलले बताए।
गत वर्ष श्रीलंकामा भएको विश्वकप आगामी वर्ष सन् २०२५ मा मलेसिया र थाइल्याण्डमा हुँदैछ। यस्तै, सन् २०२६ को विश्वकप जिम्बाबे र नामिबियामा हुनेछ।
यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई आफ्नो डगआउट मंगलबार हस्तान्तरण गरेको छ। पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदान रुपमा लिएको थियो। एभेन्जर्सले निर्माण गरेको डगआउट कास्की क्रिकेट संघलाई प्रदान गरिएको हो।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सिग्देलले डगहाउट हस्तान्तरण गरकोमा कास्की क्रिकेट संघसँग एभेन्जर्सको सम्बन्ध थप सुदृढ भएको उल्लेख गरे। उनले पोखरामा प्रशस्त क्रिकेटको सम्भावना रहेको हुँदा तिनै तहका सरकारले मिसन-०२७ लाई ध्यान दिनुपर्नेमा जोड दिए।
नेपाल क्रिकेट संघ आयोजनामा नेपाल प्रिमियर लिग (एनपिएल) यही १५ मंसिरदेखि काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्सले प्रतिनिधित्व गर्दैछ। प्रतियोगितामा ८ टिमले भाग लिँदैछन्।