२६/११ को रात : धेरैले बिर्सन नसक्ने ताजमा भएको त्यो आक्रमण

हिमाल प्रेस ११ मंसिर २०८१ १६:३६
6
SHARES
२६/११ को रात : धेरैले बिर्सन नसक्ने ताजमा भएको त्यो आक्रमण सन् २००८ को नोभेम्बर २६ मा भारतको मुम्बईस्थित ताज होटलमा भएको आतंकवादी आक्रमण। फाइल तस्बिर : इन्डियन एक्सप्रेस

काठमाडौँ- सोह्र वर्षअघि भारतको मुम्बई सहर एकाएक गोलीको आवाजले आतंकित बन्यो। २६ नोभेम्बर २००८ को राति आतंकवादीहरूले मुम्बईका दुई पाँचतारे होटल, रेल स्टेसन र एक यहुदी केन्द्रलाई निसाना बनाएका थिए।

मुम्बईमा यति ठूलो आक्रमण भएको भनेर सुरुमा कसैले अनुमान गरेका थिएनन्। बिस्तारै सञ्चारमाध्यममा खबर प्रसारण भएपछि मुम्बई आतंकवादीहरूको चपेटामा फसिसकेको स्थानीयवासी, भारत सरकार र अन्य देशहरूले थाहा पाए।

आक्रमण भएकै राति आतंकवादी निरोध दस्ता (एटीएस) का प्रमुख हेमन्त करकरेसहित मुम्बई प्रहरीका केही अधिकारी आतंकवादीको निसानामा परे। आतंकवादीको गोली लागेर उनीहरूको ज्यान गयो। मुम्बईको लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनलबाट सुरु भएको त्यो आतंकको त्यो ताण्डव ताज होटल पुगेर सकिएको थियो। ६० घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा आएको आतंकवादीहरूसँगको त्यो भिडन्तमा १६६ बढीले ज्यान गुमाउनुपर्‍यो।

भिडन्त नियन्त्रणमा आइसकेपछि मुम्बई प्रहरीले दिएको जानकारीअनुसार आतंकवादीहरू दुई समूहमा बाँडिएका थिए। लियोपोल्ड क्याफेमा पुगेका दुई आतंकवादीले अन्धाधुन्ध गोली चलाउन थाले।

विदेशी पर्यटकमाझ लोकप्रिय त्यो क्याफेमा आतंकवादीहरूको गोली प्रहारमा परेर १० जनाको ज्यान गयो। सबैभन्दा बढी आतंकको दृश्य भीडभाड भइरहने छत्रपति शिवाजी टर्मिनलमा देखियो। भारतको व्यस्त रेल स्टेसनमध्ये एक हो मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनल।

रेल स्टेसनमा ठूलो संख्यामा यात्रु बसिरहेका थिए। आतंककारीहरूले त्यहाँ पनि अन्धाधुन्ध गोली चलाएका थिए। सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणमा अजमल आमिर कसाब र इस्माइल खान सामेल थिए। कसाबलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिए पनि खान मारिए। छत्रपति शिवाजी टर्मिनलमा आतंकवादीहरूको आक्रमणमा परी सबैभन्दा बढी ५८ जनाको ज्यान गएको थियो।

मुम्बईको ओबेरोय होटल व्यापारिक तप्काका बीच ज्यादै लोकप्रिय ठानिन्छ। यो होटलमा पनि आतंकवादीहरू ठूलो संख्यामा बम र गोलीका साथ प्रवेश गरेका थिए। त्यस बेला होटलमा ३५० भन्दा बढी मानिस थिए। आतंककारीहरूले तीमध्ये कतिपयलाई बन्धकसमेत बनाएका थिए। राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) का जवानले त्यहाँ दुई आतंकवादीलाई मारे। तर त्यतिबेलासम्म होटलमा भएकामध्ये ३२ जनाको ज्यान गइसकेको थियो।

समुद्र छेउमै भएको होटल ताजको गुम्बजबाट निस्किएको आगोको मुस्लो अझै पनि धेरैको स्मरणमा छ। गोली र विस्फोटका बीच मुम्बईको सान ठानिएको ताज  होटलको त्यो आगो सायदै कसैले बिर्सिन सक्छन्। आक्रमण भएका बेला ताज होटलको भवन निर्माण भएको १०४ वर्ष भएको थियो। गेटवे अफ इन्डियास्थित ताज  होटल विदेशी पर्यटकमाझ लोकप्रिय छ। त्यहाँबाट समुद्रको दृष्य प्रस्टै देखिन्छ।

अतिथिहरूले राति खाना खाइरहेका बेला होटलमा आक्रमण भएको थियो। सरकारी तथ्यांकअनुसार ताज होटलमा ३१ सर्वसाधारण र चार आतंकवादी मारिएका थिए। आतंकवादीहरूले मुम्बईको कामा अस्पताललाई पनि निसाना बनाए। एक धनाढ्य व्यापारीले सन् १८८० मा निर्माण गरेको कामा अस्पताल च्यारिटेबल अस्पताल हो।

आतंककारीहरूले प्रहरी भ्यान नियन्त्रणमा लिएर यो अस्पतालभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। कामा अस्पतालबाहिर भएको मुठभेठमा एटीएस प्रमुख करकरे, मुम्बई प्रहरीका अशोक काम्टे र विजय सालसकरको ज्यान गएको थियो। यसबाहेक आतंकवादीहरूले नरिमन हाउसलाई पनि निसाना बनाए। आतंकवादीहरूले त्यहाँ पनि कैयौँ मानिसलाई बन्ध बनाएका थिए। नरिमन हाउस यहूदीहरूलाई सहयोग गर्न बनाइएको एकखाले केन्द्र थियो। त्यहाँ अधिकांश यहुदी पर्यटक बस्ने गरेका थिए।

नरिमन हाउस यहुदी धर्मग्रन्थको ठूलो पुस्तकालय र उपासनागृहका रूपमा थियो। नरिमन हाउमा कारबाही गर्न एनसजी कमान्डो हेलिकप्टरको मद्दतले छेउको भवनमा ओर्लिएका थिए। एनएसजीको कारबाहीमा परेर आतंककारी मारिए। कुनै पनि बन्धकलाई बचाउन सकिएन। त्यहाँ सात बन्धक र दुई आतंककारीको मृत्यु भएको थियो।

२६ नोभेम्बर २००८ मा १० जना आतंकवादीले मुम्बईमा आक्रमण गरेका थिए। समुद्रको बाटो हुँदै पाकिस्तानबाट मुम्बई प्रवेश गरेका उनीहरू लस्कर–ए–तैयबाट प्रशिक्षित थिए। १० जना आतंकवादीमध्ये एक जना अजमल कसावमात्र जीवित पक्राउ परेका थिए। अन्य ९ जना सुरक्षाकर्मीको कारबाहीमा मारिएका थिए। कसाबलाई मुम्बईमा आक्रमण भएको चार वर्षपछि २१ नोभेम्बर २०१२ मा पुणेको यरवडा जेलमा फाँसी दिइएको थियो।

कसाबसहित सुरक्षाकर्मीको कारबाहीमा मारिएका अन्य ९ जनाको शव पाकिस्तान सरकारले बुझ्न अस्वीकार गरेको थियो। भारतका तत्कालीन गृहमन्त्री सुशीलकुमार सिन्देले कसाबलाई फाँसी दिइएको जानकारी पाकिस्तानलाई गराए पनि शव लिनबाट अस्वीकार गरेको बताएका थिए। महाराष्ट्रका तत्कालीन मुख्यमन्त्री पृथ्वीराज चौहानले कसाबको शवलाई येरवडा जेलभित्रै गाडिएको जानकारी दिएका थिए। भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ११ मंसिर २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast