डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनबाटै चीन, मेक्सिको र क्यानडामाथि नयाँ कर लगाउने घोषणा गरेका छन्। ट्रम्पको यस कदमको उद्देश्य ती देशलाई अमेरिकामा गैरकानुनी आप्रवासन र लागूऔषध तस्करी रोक्न दबाब दिनु रहेको बीबीसीले उल्लेख गरेको छ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले २० जनवरीमा आफ्नो शपथ ग्रहण गरेपछि कार्यकारी आदेशमा हस्ताक्षर गरी मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने बताएका हुन्। उनले यसबाहेक चीनबाट तस्करी भएर आउने केही सामान रोक्न चीन सरकारले कदम नचालेसम्म १० प्रतिशत अतिरिक्त कर लगाइने पनि बताएका छन्।
ट्रम्पले यो भनाइ कार्यान्वयन गरेमा अमेरिका र उसका तीन ठूला व्यापारिक साझेदारसँगको सम्बन्धमा तनाव उत्पन्न गर्नेछ। साथै यस्तो कदमले विश्व आपूर्ति शृंखलामा अवरोध ल्याउन सक्नेछ। कर लगाइएका तीन देशलाई त असर पर्ने नै छ।
ट्रम्पले ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरेका छन्, ‘मेक्सिको र क्यानडामाथि लगाइएको महसुल तबसम्म हटाइने छैन जबसम्म यी देशले लागूऔषध, विशेष गरी फेन्टानिल र अवैध रूपमा सीमा पार गर्ने आप्रवासी रोक्न ठोस कदम चाल्दैनन्।’
ट्रम्पले मेक्सिको र क्यानडाले यो धेरै समयदेखि चलिरहेको समस्या सजिलै समाधान गर्ने पूर्ण अधिकार राख्ने पनि बताए। ट्रम्पले भनेका छन्, ‘अब उनीहरूले ठूलो मूल्य चुकाउने समय आएको छ।’
ट्रम्पले अर्को पोस्टमा चिनियाँ अधिकारीहरूले फेन्टानिल बेच्ने व्यक्तिहरूलाई मृत्युदण्ड दिन सहमति गरेको बाचा पूरा नगरेको बताएका छन्।
यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग भने, ‘चीनले जानाजानी फेन्टानिल अमेरिकामा पठाउन दिएको विचार वास्तविकता र तथ्यहरूको पूर्ण विपरीत छ।’
बाइडेन प्रशासनले पनि चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने सामग्री निर्माण रोक्न थप कदम चाल्न आग्रह गर्दै आएको छ। वासिङ्टनका अनुसार गत वर्ष यसले झन्डै ७५ हजारअमेरिकीहरूको ज्यान लिएको अनुमान छ।
चुनावी अभियानका क्रममा ट्रम्पले मेक्सिको र चीनमाथि १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएका थिए।
गत वर्ष मेक्सिकोका ८० प्रतिशभन्दा बढी निर्यात अमेरिका गएको थियो भने क्यानडाका झन्डै ७५ प्रतिशत निर्यात छिमेकी अमेरिकामै भएको थियो। विश्वका दुई ठूला अर्थतन्त्रबीचको वर्षौँदेखिको व्यापार विवादपछि पनि अमेरिका चीनको करिब १५ प्रतिशत निर्यातको गन्तव्य रहँदै आएको छ।
कर ट्रम्पको आर्थिक दृष्टिको मुख्य हिस्सा हो। उनले यसलाई अमेरिकी अर्थतन्त्र वृद्धि गर्ने, रोजगारीको रक्षा गर्ने र राजस्व बढाउने उपायका रूपमा हेर्ने गरेका छन्।
येल ल स्कुलका पाल त्साई चीन सेन्टरका वरिष्ठ फेलो स्टेफन रोचले बीबीसीको बिजनेस टुडे कार्यक्रममा भने, ‘ट्रम्पले आफ्नो चुनावी अभियानका बेला गरेका बाचा र नीतिगत उद्देश्य हासिल गर्न करलाई हतियारका रूपमा प्रयोग गरेका छन्।’
ट्रम्पले आर्थिक मामिलाविज्ञमा नियुक्त गरेका स्कट बेसेन्टले ट्रम्पका कर वृद्धि गर्ने नीतलाई वार्ता रणनीतिको हिस्सा भनेका छन्। उनले फाइनान्सियल टाइम्ससँग भनेका थिए, ‘ट्रम्प स्वतन्त्र व्यापारका पक्षमा छन्। यो ‘बढी तनाव सिर्जना गरेर अन्ततः तनाव कम गर्ने’ रणनीति हो।’
चीनको अर्थतन्त्र अहिले ट्रम्पको अघिल्लो कार्यकालको तुलनामा धेरै कमजोर अवस्थामा छ। देश अहिले पनि गम्भीर समस्याको सामना गरिरहेको छ।



