९६ गड्डी : सरकारी कर्मचारीको विकृतिमाथि भण्डाफोर

हिमाल प्रेस ११ मंसिर २०८१ १२:५८
42
SHARES
९६ गड्डी : सरकारी कर्मचारीको विकृतिमाथि भण्डाफोर

काठमाडौँ- निजामती सेवामा प्रवेश गर्दा व्यक्ति जति शिक्षित र मेधावी कहलिन्छ, सेवा प्रवेश गरेपछि उनीहरूको कार्यसम्पादन त्यति नै सेवामूलक हुँदैनन् भन्ने कुरा सरकारी कार्यालयमा सेवा लिन पुग्ने जोकोहीले भोग्दै आएको यथार्थ हो। सुशासन पढेर सेवा प्रवेश गरेका अधिकांश सरकारी कर्मचारीमाथि नागरिकमैत्री नरहेको आरोप छ। कर्मचारीहरू भ्रष्टाचार मुद्दामा परेका कैयौँ उदाहरण पनि छन्। नेतालाई भ्रष्टाचारमा मुछ्न कर्मचारी नै सक्रिय रहने गरेको चर्चा पनि सुनिँदै आएको हो। यद्यपि निजामती सेवामा सबै कर्मचारी भ्रष्टाचारी नहुन सक्छन्।

यथार्थ के हो भने सरकारी कर्मचारी भन्नेबित्तिकै अधिकांशको मानसपटलमा आउँछ, सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने, चिनजानका मान्छे भए तत्काल कार्यसम्पादन गरिदिने, विभिन्न बहाना बनाएर काम नगर्ने, गर्नैपरे अतिरिक्त आम्दानी खोज्ने प्रवृत्ति उनीहरूमा हुन्छ।

नेपालको नोकरशाहीतन्त्रका यस्ता विकृति सञ्चारमाध्यममा समाचारका विषय बनेको धेरै अघिदेखि हो। केही साहित्यकारले प्रसंगवश निजामती कर्मचारीको ढिलासुस्ती र गैरजिम्मेवारीपनलाई आख्यानमा समावेश गर्दै आएका छन्। निजामती सेवाको समग्र विकृतिलाई मूल विषय बनाएर लेखिएका उपन्यास ज्यादै कम छन्। यस्तै उपन्यासमध्ये एक हो- ९६ गड्डी। लामो समय निजामती सेवामा रहेर अवकाश भएका साहित्यकार एवम् प्राज्ञसभा सदस्य प्रकाश तिवारीले लेखेका कारण पनि यो कृति विशेष रहेको ‘कलमका साथी’ नामक संस्थाले राजधानीमा आयोजना गरेको विमर्श कार्यक्रमका समीक्षकहरूले बताएका छन्।

समीक्षक एवम् कवि भारती न्यौपानेले भनिन्, ‘निजामती सेवामा बाहिर सेतो पर्दा छ, भित्र कालो पर्दा हुँदो रहेछ। सेतो पर्दा खोलेर कालो पर्दा देखाइदिनुभएको छ। जुन क्षेत्रमा काम गरेको हो, त्यही क्षेत्रका विकृतिलाई बाहिर ल्याउन सक्नु उहाँको ठूलो खुबी हो।’

उपन्यास पढिसकेपछि पाठकलाई प्रश्न उठ्ने उनले बताइन्। न्यौपानेले भनिन्, ‘उहाँका हाकिमले के सोचे होलान्? सहकर्मीले कस्तो व्यवहार गरे होलान् अनि आफूभन्दा मुनिका कर्मचारीले कस्तो प्रतिक्रिया दिए होलान्?’

तिवारीले उपन्यासमार्फत प्रशासनभित्रको नराम्रो पक्ष र भ्रष्टाचारका काण्डलाई एकत्रित गरेर बाहिर ल्याइदिएको भनाइ न्यौपानेको छ। ‘यो उहाँको ठूलो हिम्मत हो। प्रशासनको नराम्रो पक्षलाई काँक्रो चिरेजसरी चिराचिरा बनाएर प्रस्तुत गर्नुभएको छ’, उनले भनिन्।

न्यौपानेका अनुसार उपन्यासमा ठमेलमा हुने रात्रिकालीन दृश्यलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। साथै महिलालाई सशक्त नेतृत्व गर्ने पात्रका रूपमा उभ्याउनु, महिलामाथि विश्वास गर्न सक्ने क्षमता हुन्छ भनेर देखाउनु उपन्यासका सबल पक्ष रहेको न्यौपानेले बताइन्। उनले भनिन्, ‘राम्रो विचार बोकेर प्रशासनमा छिरेको मानिस संगत र परिस्थितिले गर्दा भ्रष्टाचारी बन्न सक्छ भन्ने यथार्थ उपन्यासमा पाइन्छ।’

नेपाली समाजमा जोसँग पैसा छ, उसैले सम्मान पाउँछ। सरकारी जागिर खाने र सामान्य व्यापार गरेर बस्नेलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। उपन्यासमा यस्ता विषयलाई सूक्ष्म रूपमा चित्रण गरिएको न्यौपानेले बताइन्। उनले भनिन्, ‘साँच्चै हाम्रो समाज यति विकृत छ, प्रशासनभित्र हाम्रा सन्तानलाई प्रवेश नगराऊँजस्तो लाग्छ। प्रशासनको यस्तो परिपाटी सुधारका लागि अहोरात्र खटिएका उदाहरण पनि छन्। साना कर्मचारीमाथि हाकिमहरूले गर्ने दुव्र्यवहार देखाइएको छ।’ उपन्यासमा सरकारी कर्मचारीले गर्ने व्यवहार र रोबरबाफ यथार्थ ढंगमा प्रस्तुत गरिएको न्यौपानेले बताइन्।

निजामती सेवामा रहेका इमानदार कर्मचारीका कुरालाई उपन्यासमा त्यति स्थान नदिइएको उनले बताइन्। न्यौपानेले भनिन्, ‘हामी उहाँलाई चिन्दैनौँ तर उहाँको कृतिले हामीलाई आकर्षित गरेको हो। उहाँको लेखन सूक्तिमय र काव्यिक छन्। उपन्यासका गद्यांश अध्ययन गर्दा कविता वाचन गरेजस्तो लाग्छ।’

उपन्यासकार एवम् समीक्षक अनिता कोइरालाले आफूलाई विगतमा लोकसेवाको तयारी कक्षा लिँदा सुशासन निकै मन परे पनि निजामती कर्मचारीको व्यवहार हेर्दा ठिक उल्टो रहेको बताइन्। कर्मचारीतन्त्रभित्रको त्यस्तै विषयलाई उपन्यासले चिरफार गरेको कोइरालाको भनाइ छ। उनले भनिन्, ‘सुशासन पढेका व्यक्तिले मुलुकको कायापलट गर्छन् भन्ने जस्तो लाग्थ्यो। यति धेरै अध्ययन गरेका व्यक्ति ईश्वरतुल्य लाग्थ्यो। अहिले ३० हजारमा पनि र्‍याल चुहाएको देख्दा अचम्म लाग्छ।’

केही गर्न भनेर निजामती सेवामा लागेपछि कसरी त्यहाँभित्रको माखेसाङ्लोमा पर्छन् र उनीहरूको मनस्थिति, अवस्थिति र परिस्थिति कस्तो हुन्छ भन्ने यथार्थ उपन्यासमा छर्लंग पारिएको उनको भनाइ छ।

उनले भनिन्, ‘कतिपय निजामती कर्मचारीले इन्द्रिय नै मारेका छन्। निजामती कर्मचारी भएपछि कि भ्रष्टाचारी बन्नुपर्ने कि मानसिक सन्तुलन बिगारेर हिँड्नुपर्ने अवस्था छ।’ पैसाको अतृप्त प्यास कस्तो हुन्छ भन्ने यथार्थ उपन्यासमा देखाइएको उनले बताइन्। उनले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ भन्ने पनि चोखो बस्नै सक्दैन। अलिकति आवाज उठाउनै सक्दैन। उपन्यासमा कर्मचारीतन्त्रभित्रको केस्राकेस्रा केलाइएको छ। पैसाको अगाडि सिद्धान्त र वाद केही होइन रहेछ।’

केही महिलाको भूमिका पढ्दा ‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ हेरेजस्तो लाग्ने उनको बुझाइ छ। उनले भनिन्, ‘एउटा निष्ठावान् पुरुषलाई कलंकित बनाउन महिला प्रयोग गरिएको छ। प्रशासनमा चितुवा नै चितुवा रहेछन्।’

उनका अनुसार उपन्यासमा देश, समाज, राजनीति, मनस्थितिलाई आख्यानमा ढालिएको छ। उनले भनिन्, ‘सत्य घटनालाई कथानक बनाइएकाले निरसजस्तो लाग्न सक्छ। प्रशासनका मान्छेले पढेमा डराउन सक्छन्।’

पाठकीय प्रतिक्रिया दिँदै सुधा मैनालीले ९६ गड्डी उपन्यास पनि अनुसन्धानमा आधारित हुन्छ भन्ने मानक स्थापना गर्न सफल भएको बताइन्। उनले उपन्यासमा भ्रष्टाचारी संस्कृति, पर्यावरण, नारी पहिचान र पुँजीवादजस्ता चार विषयमा केन्द्रित भएको बताइन्।

उनले भनिन्, ‘कर्मचारी र राजनीतिक नेतृत्वले भ्रष्टाचारलाई संस्थागत बनाइरहेका छन्। त्यसैले यो संस्कृतिका रूपमा स्थापित भएको छ। कर्मचारीतन्त्रमा जेजस्तो गलत प्रवृत्ति देखिएको छ, उपन्यासमा त्यस्ता कुरालाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ।’ कलाकार नवराज तिवारीले उपन्यासमा आधारित रहेर फिल्म बनाउने हो भने सपल हुन सक्ने बताए।

कृतिका लेखक प्रकाश तिवारीले आफ्नोे उपन्यास पढेपछि सहकर्मीहरूले फोन उठाउनै छाडेको जानकारी दिँदै भने, ‘उनीहरूले आफैँमाथि लक्षित गरी लेखिएको हो कि भनेर होला। मैले त व्यक्तिविशेष नभई नेपाली नोकरशाहीतन्त्रको यथार्थ बाहिर ल्याएको हुँ।’ तिवारीले उपन्यासमा आफूले निजामती कर्मचारीतन्त्रमा भ्रष्टहरुको बाहुल्य रहेको सन्दर्भलाई मूल विषयवस्तु बनाएको बताए। उनले भने, ‘सीधा र इमानदारहरूलाई टिक्न गाह्रो छ भनेको छु मैले उपन्यासमा। सबै खराब छन् भन्न खोजिएको चाहिँ छैन।’

लेखकलाई अलग ठाउँमा राखेर कृतिको मूल्यांकन गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। उनले भने, ‘लेखकका आधारमा कृतिको मूल्यांकन गर्न थालियो भने कृतिमाथि न्याय हुन सक्दैन। आज कार्यक्रममा उपस्थित हुनुभएका सबै स्रष्टा र वक्ताहरूसँग मेरो पहिलो भेट हो। कहिल्यै नभेटेका स्रष्टाहरूले जसरी कृतिको मूल्यांकन गर्नुभयो, त्यसले रोलाँ बार्थले भनेको लेखेको मृत्यु सार्थक भएको छ।’

कुनै पनि विषयले पूर्णता पाउन नसक्ने भएकाले प्रस्तुत उपन्यासमा पनि केही कमीकजमजोरी रहेको उनले स्पष्ट पारे। उनले भने, ‘उपन्यासमा शतप्रतिशत पूर्ण छ भनेको भए मलाई सबैभन्दा ठूलो व्यंग्यको अनुभूत हुने थियो।’

कार्यक्रममा कवि एवम् कथाकार राधिका कल्पितले ‘कलमका साथी’ संस्थाका बारेमा जानकारी दिएकी थिइन्। उनका अनुसार कलम ललाउँदाचलाउँदा केही मन मिल्ने साथीहरू समूहमा आबद्ध भई कलमका साथी सक्रिय भएको हो। उनले भनिन्, ‘त्यतिबेला एकअर्कामा परिचय थिएन। चार वर्षअघि जोडिएर कलमका साथी नामकरण गरी त्यही संस्थामा आबद्ध भएका हौँ। कुनै कृतिलाई बाहिर ल्याउन कोही कोहीको साथ चाहिन्छ। हामी लेखकको त्यही साथ बन्न खोजेका हौँ।’ उनले उत्कृष्ट कृतिमाथि विमर्श गर्न पाउनु कलमका साथीका लागि गौरवको विषय रहेको बताइन्।

साहित्यकार गीता रेग्मीले कलमका साथीलाई विश्वास गरेर विमर्श कार्यक्रममा उपस्थित भएकामा प्रकाश तिवारीलाई धन्यवाद दिइन्।

कार्यक्रमका सहजकर्ता हेम भण्डारीले दुवै समीक्षकमा सूक्ष्म पठन देखिएको बताए। उनले भने, ‘दुवैजना समीक्षकले ९६ गड्डीमाथि मसिनामसिना कुरा खोतलेर देखाइदिनुभयो। उहाँहरूका कुरा लेखक र समीक्षकका लागि निकै उपयोगी छन्।’

उनले उपन्यास पढ्दा गरिब हुन हामीलाई छुट नरहेको अनुभूत भएको बताए। भण्डारीले भने, ‘तैँले किन सहरमा घर नबनाएको? तैँले किन गाडी नकिनेको? भन्छन्।’ कृतिमा विचार पक्ष बलियो हुँदा कला पक्ष कमजोर देखिएको उनले बताए। उनले कृतिका लेखक र समीक्षकबीच विमर्श कार्यक्रममै औपचारिक चिनजान भएकाले कृतिमाथिको मूल्यांकन पक्षपातरहित रहेको धारणा व्यक्त गरे। तिवारीको यसअघि तीनवटा कृति प्रकाशित भइसकेका छन्।

प्रकाशित: ११ मंसिर २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast